“मेरा लागी सेवाका लागी शक्ति म जस्तै सेवा गर्ने इच्छाशक्ति भएका मेरा साथीहरु हुन्”:तरुण रंजन दत्त

नेपाल अहिले संकटमा छ । सेवा र राहतमा थुप्रा अहोरात्र खटिएका छन् । त्यस मध्येका एक व्यक्ति हुन् भक्तपुर जिल्ला स्काउट कार्यालयका सामुदायिक आयुक्त तरुण रंजन दत्त । देख्नेले कतिको देख्छ तरुण नेपालमा भूकम्प गए देखि नत राम्ररी सुतेका छन् नत राम्ररी आरामनै गरेका छन् । तरुण भूकम्प आउनु आगाडी विदेशमा थिए तर जब नेपालमा भूकम्प गयो त्यसको ठिक ३ दिनमा १० दिनको छुट्टी लिएर आफ्ना नेपाली भूकम्प पिडितलाई केहि गर्न सकिन्छ कि भनेर नेपाल आएका थिए । १० दिनको उनको विदाको समयावधि सकीसकेको छ । तर तरुण आफ्नो मुलुकका भूकम्प पिडितलाई सहयोगमा निरन्तर खटिरहेका छन् । उनको संयोजकत्वमा काठमाडौँको शांखु, भक्तपुर जिल्ला, सिन्धुपाल्चोक जिल्ला, काभ्रे पलान्चोक जिल्ला, रामेछाप जिल्ला, धादिंग जिल्ला अनि नुवाकोट जिल्ला लगायतमा भूकम्प गए पछिको तत्काल अवस्थामा बाटोका अबरोध पन्छाउने, अस्थाई टहरा निर्माण तथा राहत वितरण कार्य गरिसकिएको छ । हुनत तरुण नत कुनै राजनैतिक क्षेत्रका नेता हुन् नत कुनै चलचित्र क्षेत्रका वरिष्ठ व्यक्ति हुन् । तर उनले गरेको कार्यले हजारौ भूकम्प पिडितले राहत महसुस गरेका छन् । कोरीबाटी डट कमसँग कुराकानी गर्दै तरुणले नेपाल स्काउटका कुराहरु खोतलेका छन् । हुनत कोरीबाटी डट कमको यो कुनै विषय हैन तर मुलुकमा भै परि आएको यस विपदको घडीमा सेवा गर्ने एक नायकको संवादलाई उल्लेख गर्ने प्रयास गरिएको हो । सायद यसले पो कुनै परिवर्तन ल्याउँछ कि? उनै तरुण रंजन दत्तसँग कोरिबाटि डट कमले गरेको कुराकानी :-

१) तपाई खास नेपाल के सोचेर र के उद्देश्य लिएर आउनुको भएको हो ?

नेपालआउनको लागि मैले सोच्नै पर्ने हैन । यस्तो विषम परिस्थितिमा जतिखेर नेपालले मलाई बोलाइ रहेछ तेती खेर केहि नसोचि म नेपालआएँ । म एक जना व्यक्तिले अर्को कुनै एक जनालाई सहयोग गर्न सक्छु भन्ने आत्माविश्वासले म नेपालआएको हुँ ।

२) तपाइँले भोलेन्टर सर्भिस जतिपनि ठाउँमा दिइरहनुभएको छ, तपाई स्काउटसँग पनि सम्बन्धित हुनुहुन्छ तर तपाइसँग स्काउट मात्रनभएर थुप्राअन्य स्यंसेवकपनि छन्, कसरी यसलाई व्यवस्थापन गर्नु भएको छ ?

यो अवस्थामा जो कोहि व्यक्तिले पनि आफ्नो ठाउँबाट सकेको सहयोग गरिरहेका छन् । म सँग भएका टिममा स्काउटसंगै अन्य थुप्रा नन् स्काउट भोलेन्टियरहरु पनि रहेका छन् । मलाई टिम म्यानेजमेन्टका यि कुराहरु स्काउटले सिकाएको हो तर अहिलेमैले स्काउटलाई मात्र सेवामा लैजानु पर्छ भन्ने छैन । यो कार्य गर्नका लागी नेपाल स्काउट र नेपाल स्काउट प्रधानकार्यलयसँग मेरो कुनै पनि सरोकार छैन तर मलाई स्काउटले यो गर्देन त्यो गर्देन भन्ने छैन । मैले आफ्नै तरिकाले स्वत स्फुर्त रुपमा सहयोग गरिरहेको छु ।

३) तपाईले थुप्रा ठाउँमा सेवागरि सक्नुभयो,तपाईँले भोलेन्टियर, म्यानपावर र राहत कसरी संकलनगर्नु भएको हो ?

हुनत म यो भुकम्प पछि नेपाल स्काउटको माध्यमबाट मोविलाइज हुन्छु भनेर विदेशबाट आएको थिएँ । मैले यहाँ आउनु अगाडि म्यासेन्जर अफ पिस नामक ग्रुपसँग पनि सल्लाह गरेको थिएँ, उनिहरुले पनि करोडौँ मुल्य बराबरको सामान दिन पनि तयार थिए तर म यहाँ आइसकेपछिको वास्तविकता अर्कै रहेको मैले बुझेँ । यदि नेपाल स्काउटका पदाधिकारीले चाहेको भए धेरै राम्रो गर्न सक्ने रहेछ । तर उनिहरुले सामानलिने र फोटो खिच्ने र पठाउँने कार्य मात्र गरे । अहिले पानीदुषितहुने भएकाले थाइल्याण्डको स्काउटले नेपाल स्काउटलाई वाटर प्युरिफायर दिएको छ, जसको प्रयोग अहिले सम्म भएको पाइएको छैन । यो राहत संकलन र अन्य कुरा मैले साथिहरुकै सरकलबाट गरिरहेको छु । त्यसै अन्तरालमा म सँग अन्य संस्थाहरु पनि मिलेर कामगर्ने भनेर आए र सहयोग गरे । तर नेपाल स्काउटका पदाधिकारीहरुले भने तपाइँ जादै हुनुहुन्छ यति सामान यो ठाउँमा लगिदिनु भनेर अहिले सम्म भनेका छैनन् । म सँग मेरा लागी शक्ति मेरा साथीहरु, मेरा आफ्ना मान्छेहरु र मानवता भएका मान्छेहरु भएको भएर मैले यो कार्य गर्न सकेको हूँ । मैले अहिले सम्मको यात्रामा भक्तपुर, काठमाडौँको शांखु, धादिंग, काभ्रेपलान्चोक, नुवाकोट, रामेछाप लगायतका ठाउँमा कार्य गरिसकेको छु । र अझै म सके जति ठाउँमा जानेछु । बरु मैले अन्य प्राजेक्टहरु पनि लन्च गर्नु परेमा तयार छु । अन्य संस्थाले पनि सहयोग गर्ने भनिरहेका छन् । म वहाँहरुसँग पनि मिलेर काम गर्न सक्छु । यदि कसैले सहयोग नगरे पनि म एक्लैले एक जनाको घाउमा मलम लगाउन सकेमा त्यो मेरा लागी सन्तुष्टिको कुरा हुनेछ । मेरो १० दिनको विदा सकिएको लगभग ९ दिन भैसक्यो र पनि म अझै सेवाको बाटोमा छु ।

४) तपाई आफै पनि नेपाल स्काउटको पदाधिकारी हुनुहुन्छ, तपाई एक जनाले त यति धेरै कार्य गर्नु भएको छ, तपाईको यो खुबीसँग नेपाल स्काउटले एकै ठाउँबाट मर्ज गरेर अगाडी बढेको भए अझ धेरै आउटपुट आउथ्यो कि ? नेपाल स्काउटमा बस्ने उच्च पदाधिकारीमा त्यो इच्छाशक्ति किन नआएको होला ?

यो कुरा तत्कालै भन्न म सक्दिन । मैले अरुको जिम्मा लिन सक्ने भन्ने कुरा हुँदैन । अरुले के सोच्छनसँग मलाई सरोकार छैन । म के सोच्छु र म के गर्न सक्छु यतिबेला त्यो मेरा लागी ठुलो कुरा हो । म एउटा स्काउट हूँ । अहिले पनि म स्काउटको युनिफर्ममा छु । यसमा नेपाल स्काउटको व्याज मात्र नभएर विश्व स्काउटको ब्याज पनि छ । यदि चाहेको भए नेपाल स्काउटले यस्तो विषम परिस्थितिमा धेरै महत्वपूर्ण कार्य गर्न सक्थ्यो । मैले समाचार हेर्न, सुन्न र पढ्न नपाएको थुप्रो भयो । तर सुन्छु नेपाल स्काउटले केवल फोटो खिच्ने र त्यो कुरालाई मिडियामा ल्याउने मात्रकाम गरिरहेको छ । वास्तविक पिडित समक्ष नेपाल स्काउट पुगेको पाइएको छैन । नेपाल स्काउटका पदाधिकारीको मानसिकताले जे भन्यो त्यहि गरे होलान । नत्रत धेरै कार्य थियो जुन वहाँहरुले गर्न सक्नुहुन्थ्यो । अझै पनि धेरै कार्य गर्न सक्छन् । ममा आत्मविश्वास छ म गर्न सक्छु भन्ने मलाई लाग्छ र म गर्छु पनि ।

५) तपाईको तर्फबाट कुनै कार्य गर्नका लागी नेपाल स्काउटमा कुनै पहल/ खबर गएका छन् या गएनन् ? वा तपाई सोझै आएर यो कार्यमा लाग्नु भयो ?

खासमा यो अग्रसरता मैले भन्दा पनि नेपाल स्काउटले देखाउनु पर्ने हो । आफ्ना सबै सदस्यलाई बोलाएर मोबिलाइज गर्नु पर्ने हो । मैले नेपालमा भएका साथीहरुलाई सोधेँ र सल्लाहमा तपाईहरु गएर नेपाल स्काउट समक्ष प्रस्ताव राख्न आग्रह गरेको थिए । तर साथीहरु त्यहाँ पुगिसकेपछिको अवस्थाले मलाई झन् चित्त दुखायो र अझ पनि त्यो कुरा मलाई चित्त बुझेको छैन । म यहाँ विदेशबाट मिटिंग गर्न, मान्छे भेटघाट गर्न आएको हैन । म मंगलबार बैशाख १५ गते राति ११:३०मा नेपाल आइपुगे र बुधबार विहानबाट म सेवाको फिल्डमा छु र म अहिले सम्म घरमा पनि जम्मा २ रात मात्र बसेको छु । यो समय मैले नेपाल आमाको लागी दिनु छ । र पछी ‘म तपाईहरुको लागी समय निकाल्छु’ भनि घरमा भनेर आएको छु । म सानो मान्छे मसंग त्यस्तो हैसियत र औकात त छैन तर पनि मलाइ के लाग्छ भने नेपाल स्काउटले साथ नदिए पनि म सँग मेरो इच्छाशक्ति छ । मेरो ठुलो शक्ति मेरो साथीभाई छन् । जोसँग मेरो जस्तै इच्छाशक्ति छ । त्यसैले पनि अझै धेरै कार्य गर्न सक्नेछु ।

६) हुनत यो वेला कुनै आलोचना गर्ने बेला त हैन तर तपाई नेपाल स्काउटमा भएकोले स्वस्थ तरिकाले आलोचना गर्दा या भन्नु पर्दा तपाई नेपाल स्काउटको गतिविधि सम्बन्धि कुनकुरा सँग असन्तुष्ट हुनुहुन्छ ?

जुन अपेक्षा मैले नेपाल स्काउटबाट गर्न सक्थे, जुन कार्य नेपाल स्काउटले गर्न सक्थ्यो । त्यो अझ सम्म गर्न सकेको छैन । त्यो ठाउँमा नेपाल स्काउट कमजोर भएको देखिन्छ । सायद नेपाल स्काउटका पदाधिकारीको क्षमतानै त्यति भएर तेतीमात्र गर्यो तर नेपाल स्काउटको पदाधिकारीमा मेरो जस्तो इच्छाशक्ति भैदिएको भए धेरै काम गर्न सकिन्थ्यो भन्ने कुरामा मा असन्तुष्ट छु ।

७) नेपाल स्काउटको श्रोत र साधनको बारेमा त तपाइले बताइसक्नु भएको छ, यो बेलामा भएकै श्रोत र साधनको समुचित प्रयोग गर्न नसकेको बेला के अन्य थप श्रोत र साधन जुटाउने क्षमता छ होला त?

नेपाल स्काउट सानो संस्था हैन । स्काउटमा विश्वमा सबैभन्दा धेरै स्वयंसेवी रहेका छन् । तब यसले आह्वान गरेको खण्डमा धेरै हातहरु जुट्न सक्छन । त्यसमा पनि सानो हात थाइल्यान्डको वाटरप्युरिफायर हो । जुन सहयोग अन्य संस्थाले पाएको छैन होला । जुन यतिबेला नेपालका थुप्रा ठाउँमा जरुरी छन् । तर त्यसलाई नेपाल स्काउटको रास्ट्रीय प्रधान कार्यालयको चौरमा अव्यवस्थित पाराले राख्नु भन्दा पिडित समक्ष दिनको १ घण्टा मात्र राखिदिएमा त्यो राम्रो हुन्थ्यो । तर के गर्ने यो नेपाल स्काउटको बानीको रुपमा विकास भएको कुरा हो । म्यानेजमेन्टको कमजोरीको कारण हामीले यसलाई सहि ढंगबाट मिलाउन सकेका छैनौ । यदि नेपाल स्काउटले चाहेको खण्डमा म जस्ता हजारौं युवा फिल्डमा जान सक्दछन । जसले अहिले नेपाल स्काउटको मातहतबाट नभएर व्यक्तिगत तवरले सेवा गरिरहनु भएको छ ।

८) नेपाल स्काउटका राष्ट्रिय सचिव लोकबहादुर भण्डारीलाई सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ, तर पनि उनि पदाधिकारीकै हैसियतमा पदाधिकारीको प्याजी रंगको स्कार्फमा कार्य गरिरहेका देखिन्छन्, सर्वोच्चको आदेश नमानेकै हुन् या उनले त्यो स्कार्फ लगाउन पाउँछन ? 

हुन त यतिबेला कसैको कृटिसाइज गर्ने बेला त हैन । तर व्यक्तिगत रुपमा म लोक बहादुर भण्डारीलाई चिन्दिन । र मलाई थाहा छ वहाँ स्काउट होइन । तर वहाँ नेपाल स्काउटको कथित राष्ट्रिय सचिव हो भन्ने कुरा चाहिँ मलाई थाहा छ, जुन अदालतमा विचाराधीन मुद्दा चलिरहेको छ । यदि वहाँ स्काउट हुनुहुन्छ भने थाहा हुनु पर्ने हो कि कुन स्कार्फ कसले लाउन पाउँछ भनेर । त्यसैले वहाँ स्काउट हैन भन्ने प्रमाणित हुन्छ । सायद वहाँलाई प्याजी रंगको स्कार्फ भनेको कसले लाउन पाउँछ या पाउँदैनन भन्ने थाहा छैन । सायद त्यसलाई वहाँले कपडाको टुक्रा सम्झेर लगाउनु भएको होला र अन्य राष्ट्रिय पदाधिकारीले पनि सायद वहाँलाई यो सम्झाउनु भएको छैन होला । त्यसमा मेरो भन्नु केहि छैन । यी कुराका लागी निक्कै समय छन् र पछी गर्दै गरौला तर यस कुरालाई ठिक बेठिक भन्ने म व्यक्तिगत तर्फबाट भन्न सक्दिन ।

अन्त्यमा

यो बेलामा सबैले मिलेर काम गर्नु पर्छ । एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति गर्न हुन्न । यो समस्या मेरो मात्र हैन हामि सबैको हो । मिलेर काम गरेमा अवश्य पनि एक दिन यो विपत्तिले हाम्रो साथ छाड्ने छ । र सबैलाइ जसरी सकिन्छ सहयोग गर्न म आह्वान गर्दछु ।

Leave a Reply