‘बिनातुक नंग्याएरमात्रै ग्ल्यामर हुने होइन, सेक्सी र ग्ल्यामर त प्रस्तुतिमा खोजिनुपर्छ’ : गरिमा

श्रीलंकामा आयोजित सार्क फिल्म फेस्टिभलमा चलचित्र ‘झोला’मार्फत उत्कृष्ट नायिकाको अवार्ड पाएकी गरिमा पन्तले यसै वर्ष राष्ट्रिय चलचित्र अवार्ड पनि हात पारेकी छन् । यसअघि ‘सुन्दर मेरो नाम’, ‘जीवन मृत्यु’, ‘अर्जुनदेव’, ‘फूल’, ‘किन लाग्छ माया’, ‘पराई’, ‘झोला’, ‘मनले मनलाई छुन्छ’लगायतका चलचित्रमा अभिनय गरेकी गरिमा पन्त अभिनीत चलचित्र ‘ठूली’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ । यही विषयमा गरिमा र अशोकप्यासी राईबीच भएको कुराकानीको मुख्य अंश :

ठूलीको अवस्था कस्तो छ ?

हाउस फुलका साथ चल्दैछ । चलचित्रमा जुन विषय उठाइएको छ, त्यसलाई दर्शकले मन पराएका छन्। चलचित्रको शीर्ष गीत पनि अहिले चर्चित भएको छ ।

‘कोहिनुर’को क्रेज र ‘ताण्डव’को आक्रामक प्रचार अभियानसँग ठूलीले प्रतिस्पर्धा गर्न सक्ला ?

यी चलचित्र आआफ्नै शैलीका छन् । दर्शक आआफ्नै छन् । त्यसैले प्रतिस्पर्धाभन्दा पनि दर्शकलाई रोजेर चलचित्र हेर्ने अवसर प्राप्त भएको छ ।

दर्शकले हेर्नैपर्ने के छ ठूलीमा ?

खासमा चलचित्र मनोरञ्जनका लागि हेर्ने हो तर त्यससँगै सन्देश पनि हुनुपर्छ । ठूलीमा दुवै चीज छन् । समाजलाई सकारात्मक सन्देश दिनसक्ने सामथ्र्य छ ।

शीर्ष भूमिका निर्वाह गरेकाले चलचित्र चलेन भने नैतिक दोषको बढी भाग तपाईंलाई नै पर्ला नि ?

यो असाध्यै गलत कुरा हो । चलचित्र टिमवर्क हो । एउटाले मात्रै गरेर हुँदैन । त्यसैले चले पनि नचले पनि त्यसको श्रेय होस् वा दोष, सबैलाई जान्छ ।

यसअघि प्रदर्शनमा आएको झोला र ठूलीबीच भिन्नता ?

झोला एक सय वर्षअगाडिको नारीको कथा हो भने ठूली अहिलेकी नारीे । भूमिकाका दृष्टिले मेरा लागि दुवै उत्तिकै चुनौतीपूर्ण थियो ।

तपाईंलाई झोलाकी जयकला कि ठूली दमदार लाग्छ ?

दुवै आआफ्ना ठाउँमा दमदार छन् । एक सय वर्षअगाडिको पात्र बन्नु यसै पनि सजिलो छैन । ठूली झन् अहिलेको आधुनिक नारी । मैले यी दुवै भूमिकालाई न्याय गर्ने प्रयास गरेकी छु ।

नायिकाका रूपमा आफ्नो सबल पक्ष के लाग्छ ?

मेहनत र धैर्य नै हो । म कामप्रति सधैं समर्पित हुन्छु । अरूसँग आफूलाई तुलना गर्न चाहन्नँ ।

तपाईं पनि ग्ल्यामरस छवि बनाउन लागिपर्नुभएको हो ?

कलाकार भएपछि भर्सटाइल हुन जरुरी छ। म ग्ल्यामरस छवि बनाउनभन्दा पनि आफ्नो सीमा र समाजलाई असर नपर्ने गरी विविधता ल्याउन खोजिरहेको छु ।

नायिकाका लागि सेक्सी र ग्ल्यामरस छवि शक्तिशाली हतियार मानिन्छ, तपाईंलाई के लाग्छ ?

ग्ल्यामर भनेको प्रस्तुतिमा भर पर्छ । चलचित्रमा कथाअनुसार दमदार रूपमा प्रस्तुत हुन सक्यो भने जोसुकै ग्ल्यामरस देखिन्छ । हिरोइनलाई बिनातुक नंग्याएरमात्रै ग्ल्यामर हुने होइन । त्यसैले सेक्सी र ग्ल्यामर प्रस्तुतिमा खोजिनुपर्छ ।

कसैको प्रेममा परेको अभिव्यक्ति दिनुभएको छ, विवाह गर्ने योजना ?

मैले त्यस्तो अभिव्यक्ति दिएको होइन । कहिलेकाहीँ के बोलेको हुन्छ के बुझिन्छ । अहिले विवाह गर्ने योजना पनि छैन । घरपरिवारबाट विवाह गर्ने बेला भो भन्नु सामान्य कुरा हो । विवाह जीवनमा एकपटक गर्ने हो । त्यसैले मेरो विवाह खुसुक्क होइन भव्य रूपमै हुन्छ ।

चलचित्र क्षेत्रमा कहिलेसम्म टिक्न सकिन्छजस्तो लाग्छ ?

भविष्यका बारेमा भन्न त सक्दिनँ तर मेरो रुचि र चाहना यही क्षेत्रमा छ । जहिलेसम्म चलचित्र क्षेत्रमा रहन्छु, त्यस बेलासम्म इमानदार भएर लाग्नेछु ।

अन्नपुर्ण पोष्टबाट

Leave a Reply