‘हाम्रो बुद्धि हामीले अमेरिका यूरोपलाई गिफ्ट दिइरहेका छौ’: हरिवंश आचार्य(भिडियो)

कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण यतिबेला नेपाल पनि लकडाउनमा छ । यो भाइरसको संक्रमण फैलिन नदिन सरकारले बैशाख २५ गतेसम्मलाई लकडाउन लम्ब्याएको छ । वर्षमा विरलै घरमा फुर्सदसँग बस्न पाउने सेलिब्रेटीहरु अहिले परिवारसँग समय काटिरहेका छन् । लकडाउनमा घरमै रहँदा पनि कलाकारहरु चेतनामुलक भिडियो सामाग्री भने तयार पारिरहेका छन् र घरमै विशेष सावधानी अपनाउन पनि अपिल गरिरहेका छन् ।यस्तैमा ‘मह’जोडीका ‘ह’ अर्थात् नेपाली हास्य व्यङ्ग्य क्षेत्रका वरिष्ठ कलाकार हरिवंश आचार्यले पनि एक भिडियो मार्फत आफ्नो मनको कुरा भन्दै केहि सन्देश दिनुभएको छ ।

उहाँले यस लकडाउनको परिस्थितिमा सबैलाई घरमा बस्न एकदम गाह्रो हुने, जीउमा काउसो छोडे जस्तो हुने, कतातिर उछिटेर उफ्रेर हिडौ जस्तो हुन सक्ने भइरहे पनि आफुलाई जाँचेर आफुसंग कति धैर्य छ भनेर जाच्ने पनि यो समय रहेको बताउनुभयो । आफुले पनि जाचेको र आफु धेरै धैर्य भएको धैर्यवान् मान्छे जस्तो लागेको उहाँले बताउनुभयो। यस परिस्थितिमा घर भन्ने कुरा धेरै ठुलो भावना रहेको सबैले महसुस गरेको र विदेशमा वस्ने युवाहरुलाई कति ठुलो सकस, पिर परेको र आफ्नो देशमा फर्किन पाए हुने जस्तो भएको हुनसक्ने उहाँले बताउनुभयो ।

धेरै मानिसहरुको अब त विदेश जान्न बाबा भन्ने स्टाटस पनि उहाँले धेरै देखेको बताउनुभयो । युवा शक्ति भनेको जलबिद्युत योजना भन्दा पनि ठुलो शक्ति रहेको उहाँ बताउनु हुन्छ । युवा शक्तिमा धेरै करेन्ट रहेको र हामीले हाम्रो करेन्ट खाडीतिर पठाइरहेको र हाम्रो बुद्धि हामीले अमेरिका यूरोपलाई गिफ्ट दिइरहेका कुरा पनि उहाँले बताउनुभयो । यस कारणले गर्दा अब सरकारले यो लकडाउनको अवसरलाई सदुपयोग गरेर नेपाल कसरी आत्मनिर्भर हुन सकिन्छ भनेर सोच्नुपर्ने र अरु केहिमा नभए पनि खानेकुरा आफ्नो देशमा उत्पादन गर्न बढाउने बारे पनि सोच्न उहाँले आग्रह गर्नुभएको छ ।

सबैजना घरमा बसेको परिस्थितिमा महासंचारको लागि धेरै राम्रो भएको पनि उहाँले बताउनुभयो । महासंचारको युट्युव च्यानलमा रहेका भिडियो दिनको ५ लाख बढि मानिसहरुले हेरेको उहाँले बताउनुभयो । झन्डै ३०- ४० वर्ष अघि उहाँहरुले गरेको कुरा र हरिबहादुर ,मदनबहादुरको चरित्र अहिले भाइरल भएको देख्दा त्यो बेला टेलिचलचित्र बनाउँदा महासंचारलाई घाटा परेको र केहि फाइदा नभएको समय पनि उहाँले सम्झिनुभयो । सरकारले धेरै हदसम्म राम्रो काम गरेकोमा उहाँले सरकारलाई धन्यवाद पनि दिनुभएको छ र साथमा सबैजना मिलेर संसारमा भएको यो प्रलय र आर्थिक प्रलयबाट पनि कसरी अघि बढ्ने सोच्न सबैलाई शुभकामना पनि दिनुभएको छ ।

Leave a Reply