चलचित्र कम नाटक बढी लाग्ने “लालपुर्जा”

कलाकारहरु : सौगात मल्ल, बिपिन कार्की, हरिहर शर्मा, कामेश्वर चौराशिया, मेनुका प्रधान, मिरुना  मगर, कमल मणि नेपाल, मिश्री थापा आदि l

चलचित्र “लूट” बाट सहायक निर्देशक हुदै, चलचित्र छड्के निर्देशन गरेका निर्देशक हुन् निगम श्रेष्ठ, छड्के बाट नेपाली सिनेमा जगतमा फरक स्वाद पस्किने प्रयाश गरेका श्रेष्ठले यस पटक पनि उही २ मुख्य कलाकार लिएर फरक धारकै लाल पुर्जा बनाएका छन् तर एउटा भिन्न कथा बस्तुमा आधारित l फरक अभिनयमा महारथी हासिल गरेका नायक बिपिन कार्कीको अभिनय यस पटक पनि गज्जब छ, चलचित्र लाल पूर्जा मा बिपिन कार्की अझै सौगात मल्ल माथि हाबी हुन खोजेका छन् भन्दा फरक पर्दैन l

दर्शकहरुले नाटक घरमा गएर सौगात मल्ल, बिपिन कार्की अनि मेनुका प्रधान लगायतको नाटक त हेर्नु भएकै होला, धेरैजसो नाटक कै पृष्ठभूमिबाट आएका कलाकारहरुले भरिपूर्ण लाल पुर्जा, चलचित्र भन्दा पनि नाटक बढी लाग्छ l तर निर्देशक श्रेष्ठ ले यसपटक पनि भिन्न प्रश्तुतिका लागि सक्दो मिहेनत गरेका छन् l लम्जुङ्ग को पहाडी गाउमा छायांकन गरिएको लालपुर्जाको कथा मौलिक छ, चलचित्रका कतिपय दृश्यहरु अजिब र अस्वभाविक लाग्ने भएता पनि, रहस्यमयी र चाखलाग्दो छ, कथा स्पस्ट छ तर प्रस्तुति नेपाली चलचित्रका नियमित दर्शक का लागि अबोधगम्य छ, त्यसको ठिक बिपरित सधै उही स्वाद को चलचित्र हेरिरहेका दर्शक को लागि भने  यो निरन्तरता मा रोचक क्रमभंग पनि हुनसक्छ l लगानीका हिसाब ले यो चलचित्र त्यति खर्चिलो देखिदैन, खैर निर्माताको लगानी उठ्नेमा पनि शंका छैन l

काल्पनिक घाटमान्डू बाट ५५५ किलोमिटर टाढा रहेको मौलिक अनि पर्यटकीय बस्ति मितेरिगाउ, जहाँ आफ्नै नियम छ, समस्या समाधान गर्ने मितेरी सभा को अभ्यास छ, यहाँ धेरै  बिदेशी पर्यटक हरुको आगमन हुन्छ, त्यहि बाटो हुदै उनीहरु विश्वप्रेम को खोजीमा रहस्यमयी अक्षरगंज जाने गर्छन  र गएका मध्य धेरै फर्कदैनन l मितेरी गाउको प्रवेश गर्ने चौतारो मा केहि मानिस हरुलाई जन्जिर मा कैद गरि तथस्ट रखिएको अजिब दृश्य देख्न सकिन्छ, गाउमा आउने पर्यटक हरुपनि त्यो दृश्य देखेर जिल्ल पर्छन l मितेरी गाउमा धेरै मित जोडी हरु बस्छन, बिग्रिएको सम्बन्ध सुधार्न यहाँका मानिसहरुले एक अर्का संग मित लगाउने गर्छन, त्यसै मध्यका एक जोडी हुन् तान्त्रिक(सौगात मल्ल) अनि उनका हितेसी  मित हजाम (कामेश्वर चौराशिया) l सानैमा लन्डन गएकी आफ्नी मायालु “पर्पला” को यादमा हराइरहने तान्त्रिक, मितलाई सधै आफ्नी मायालु एक दिन फर्केर आउने आशाको कथा सुनाइ रहन्छ l आफ्नी आमाले बाउ संगै छोडेर गएको तान्त्रिक उसको  सौतिनी दाइ ओम नरसिंह देवकोटा(बिपिन कार्की) संग, बाउ ऋग्बेद देवकोटाको नाम मा भएको गाउकै ४ रोपनी ४ आना जग्गा बिबादमा सधै लडीरहनछन, अनि यहि झगडा मिलाउन पटक पटक मितेरी सभा बोलाइन्छ l यहि जग्गा को बिषय नै कथाको मुख्य खुराक हो जसलाई निकै नाटकीय ढंगले चलचित्र मा प्रश्तुत गरिएको छ l

तान्त्रिक र ओम नरसिंह देवकोटाका बाउ, आफ्ना दुवै छोराहरुलाई बराबरी सम्पत्ति अंशबण्डा गर्न चाहन्छ तर त्यसका लागि उसकी सासु  (मिश्री थापा) तगारो बनेकी हुन्छे, उ सबै सम्पत्ति ओम नरसिंह देवकोटाको हुनु पर्छ भन्ने पक्ष मा हुन्छे l यहि तनावले ऋग्बेद जडिया बनेको हुन्छ, र सधै जाड खान उनका मित मुखिया (हरिहर शर्मा) को गाउकै होम स्टे मा धाउछ l यसै क्रममा सम्पत्ति अंशबण्डा गर्न सहयोग गरिदिने बहानामा मुखियाले ऋग्बेदलाइ एक दिन कृष्णमोचन (कमलमणि नेपाल) संग परिचय गराउछ l तर त्यहि रात ऋग्बेदको मृत्यु हुन्छ l बाउ मरेको १४ दिन पनि नपुगिकन जग्गा को निहुमा सौतेनी भाई तान्त्रिक र ओम नरसिंह देवकोटाको बिचमा पुन झगडा पर्छ, यहि मौका छोपी मितबाउ मुखियाले उनीहरुको सम्पत्ति हत्त्याउने योजना बुन्छ l यसका निम्ति उसले तान्त्रिकको पर्पाला प्रतिको प्रगाड प्रेम र उनको प्रतिक्षा को फाइदा उठाउछ, दलाल कृष्ण मोहन कि श्रीमती (मिरुना  मगर) लाइ नक्कली पर्पला बनाएर गाउ मा प्रवेश गराउछ l आफ्नी बालापनिकी संगी अनि प्रेमी अचानक गाउ आइपुग्दा तान्त्रिक दंग पर्छ l पर्पला ओम नरसिंह देवकोटा र उसकी श्रीमती अमला (मेनुका प्रधान) को पनि बालापनको साथि हुन्छे, यहि कुराको फाइदा उठाउदै नक्कली पर्पलाले २ सौतेनी भाइको झगडा अन्त्य गर्न उनीहरुको बाउ को नाम मा रहेको जग्गा स्थानिय डेरी को नाम मा गरिदिन सल्लाह दिन्छे, सुरुमा नमाने पनि तान्त्रिक लाइ प्रेम र ओम नरसिंह देवकोटाको परिवार प्रति आत्मियता देखाएर अंतत जग्गा हत्त्याई छोड्छे l अन्तमा यो सब षड्यन्त्र मुखियाको हो भन्ने  कुरा तान्त्रिक ले थाहा पाउछ l अनि दोषी मुखिया, कृष्णमोचन अनि उसकी श्रीमती लाई मितेरी गाउको कानुन बमोजिम १ महिनाको लागि उही गाउ को प्रवेश नाकामा रहेको चौतारो मा  मानब मुर्ति बन्ने सजाय दिइन्छ l  एकदिन साच्च्कै पर्पाला (सृष्टि श्रेष्ठ, अतिथि कलाकार) तान्त्रिक लाई खोज्दै गाउ आइपुग्छे तर तान्त्रिक गाउ छोडेर अक्षरगंजको यात्रा मा निस्कीसकेको हुन्छ , यहि कथा नै लाल पुर्जाको समग्र कथा हो l

लाल पुर्जा को कथा जग्गा बिबाद भए पनि प्रश्तुति फरक छ, कथा को अर्को पाटो अक्षरगंज को यात्रा अनि सौगात मल्ल को तान्त्रिक रुप, बिस्वप्रेमको किताब हातमा बोकी हिन्ने साधु (कुमार नगरकोटी) कथाको फरक अनि रहस्यमयी हिस्सा हो l सौगात मल्ल लाई किन तान्त्रिक भनिएको हो ? अक्षरगंज को यात्रा भनेको के हो ? तान्त्रिक को प्रत्येक रातको अजिब हर्कत आखिर किन हो ? यो सबै प्रश्न को जबाफ दर्शकले चलचित्र सक्किदा सम्म पनि थाहा पाउदैनन l चलचित्रमा मेनुका प्रधानको पात्र अमला अनि उसले अमला संग गर्ने बातचित अजिब अनि रहस्यमयी छ l चलचित्रमा सर्बाधिक प्रयोग गरिएको प्याजी रंग अनि तान्त्रिक र उसको मित ले काच्चै भ्यान्टा खाने दृश्य अस्वाभाविक अनि अपाच्य छन l निर्देशक निगम श्रेष्ठ ले यस अघि चलचित्र छड्केमा जस्तै चलचित्र लाल पुर्जामा पनि नायक सौगात मल्ल लाइ चाहिने भन्दा बढी नै चलायमान  बनाएको देख्न सकिन्छ, सौगात मल्ल ले आफ्नो अभिनयमा कूनै कसर बाकि नाराखेता पनि, उनलाई गराइएको अप्राकृतिक र असहज हर्कतलाई दर्शक ले त्यत्ति मन पराउने देखिदैन l चलचित्रमा रहस्य को गर्भमै राखिएको अक्षरगंज शब्द को अर्थ के हो त बुझ्न सकिदैन तर चलचित्रकै रहस्यमयी कलाकारको भूमिका मा रहेका कलाकार कुमार नगरकोटी ले अक्षरगंज नाम कै किताब लेखेका छन् यस अर्थ अक्षरगंज लाई मृत्यु पश्चात जाने एक अलौकिक ठाउको रुपमा बुझ्न पनि सकिन्छ l तर यथार्थ के हो गर्भ मै छ l

चलचित्रमा ओम नरसिंह देवकोटा (बिपिन कार्की) को जोडदार अभिनय ले दर्शकलाइ पटक पटक हास्ने अवसर पनि दिन्छ, लालपुर्जा मा २ गीत समाबेश गरिएको छ, ति गीतहरु पनि निगम को अघिल्लो चलचित्र छड्केमा जस्तै झर्रो नेपाली गीत हरु नै हुन्, जसको छुटै मिठास दर्शकले चलचित्रमा लिन सक्छन, संगै चलचित्रमा नौलो प्रयोग गरिएको Bitbox  चाख लाग्दो नै छ  l चलचित्र अजिब अनुभूति अनि रहस्यबाट शुरु भएर रहस्यकै कौतुहलतामा अन्त्य हुन्छ ? सायद निर्माण पक्षले लालपुर्जाको सिक्वेल पनि निर्माण गर्ने सोच बनाएको हुनु पर्छ l

समग्रमा चलचित्र यस अघि निगम श्रेष्ठ ले निर्देशन गरेको छड्केकै झल्को दिने खालको छ, अभिनयका हिसाबले तारिफ योग्य छ, चलचित्रलाइ मौलिक कथा बस्तु बोकेको थ्रिलर जेनेराको भन्दा अतिसयोक्ति नहोला संगै चलचित्रमा कमेडीको चटनी पनि छ l नेपाली नाटक का दर्शकले यो चलचित्र हेर्न छुटाउन नहुने चलचित्र हो l तर नियमित नेपाली चलचित्रका दर्शकलाई लालपुर्जा आशा अनुरुप नहुन पनि सक्छ l

हामीले यस चलचित्र लाई 5 star मध्य  2.5  star रेटिंग दिएका छौ l
समिक्षक : आर. पी. भट्टराई

Leave a Reply