दिमाग खराबको निर्मल : आजको डिजिटल युवाको हुबहु पात्र

– देवेन्द्र शिखा

तपाईलाई फेसबुक ग्रुपहरुको बारेमा कतिको थाहा छ ? त्यसमा पनि फेसबुकमा सक्रिय नेपाली पुरुष युवाहरुको गोप्य ग्रुप एमआरआर अर्थात मेन्स रुम रिलोडेडका बारेमा कतिको थाहा छ ? दारी ग्याङका बारेमा ?

यदि तपाई फेसबुकमा सक्रिय युवा हुनुहुन्छ भने तपाईले एमआरआर र दारी ग्याङका बारेमा सुन्नु भएको हुने सम्भावना अधिक छ । एमआरआर र दारी ग्याङहरु यस्ता ग्रुप हुन्, जसमा १८ बर्ष नाघेका नेपाली पुरुषहरु मात्र सदस्य हुन पाउँछन् । यी दुइमध्ये पनि एमआरआर बढि सक्रिय र प्रसिद्ध मानिन्छ ।

केहि बेरमा पुन: यसमा जोडिने गरि एकछिनलाई अहिले यो प्रसंगलाई यहि रोकेर अर्को प्रसंगमा लागौँ । प्रसंग हो, दिमाग खराब फिल्मको एउटा पात्र निर्मलको । यो पात्र दुखैले आधा दर्जन जति पटक स्क्रिनमा देखिएला । पुरा कथामा यो पात्र हुनु र नहुनुले त्यति विघ्न फरक पार्दैन । यो पात्रले गर्ने कामलाई अन्य कुनै किसिमले देखाएको भए पनि फिल्मको कथानक परिवर्तन हुदैन । तर यो पात्र जब पर्दामा देखिन्छ, धेरै जसो अवस्थामा हलमा ताली र सिठी बज्छ । यो निर्मल भन्ने पात्रको भुमिकामा छन् फिल्मका निर्देशक निश्चल बस्नेत स्वयम् ।

फिल्मको कथामा निर्मल आफ्नी प्रेमिकालाई विदेश उडाउन एयरपोर्ट गएको हुन्छ । उसले त्यहाँ फिल्मको मुख्य पात्रलाई भेट्छ र सानो सहयोग गर्छ । मुख्य पात्रको अफ्ठ्यारोमा नायक झैँ उपस्थित भएर निर्मलले सहयोग गर्छ । यी दृष्यहरुमा नै हो दर्शकले ताली र सिठी बजाउने ।

निर्मल पात्र कस्तो ?

फिल्ममा थोरै दृष्य भए पनि निर्मल पात्र कस्तो पात्र हो भनेर चित्रण गर्न गाह्रो छैन । उ नेपाली समाजको यस्तो युवा हो, जसलाई सोसल मिडियाले एकदमै धेरै प्रभाव पारेको हुन्छ । उ त्यस्तै ग्रुपको सहयोगमा सामाजिक कार्य गर्छ । मनको राम्रो छ । देशमा केहि राम्रो हुनु पर्छ भन्नेमा उ स्पष्ट छ । उ खराब राजनीतिले यति वाक्क भएको छ कि कसैले परम्परागत राजनितिक शक्तिलाई चुनौति दिन्छ भने उ सहयोग गर्न कम्मर कस्छ । तर उसको कमजोरी पनि त्यहि सोसल मिडिया हो । उ सोसल मिडियामा आएका भिडियोहरु हेरेर धारणा बनाउँछ । उसलाई ति भिडियोहरुको सत्य पर्गेल्ने समय छैन वा जाँगर छैन तर ति भिडियोहरु हेरेर तत्काल प्रतिक्रिया दिन भने तयार रहन्छ ।

फिल्ममा मुख्य पात्रहरुको बारेमा फैलाइएको नियोजित हल्लामाथि निर्मलले तत्काल विश्वास गर्छ । यसैले निर्मलले अफवाहले पिडित भएका पात्रहरुमाथि नै गालीगलौज गर्छ । पछि अर्को समाचार आउने बित्तिकै पुन: उ धारणा परिवर्तन गर्छ ।

अब लेखको सुरुमा फर्कौँ । निर्मल तिनै सामाजिक सञ्जालका एमआरआर जस्तो ग्रुपमा सक्रिय र डिजिटल मिडियामा आएका सामग्रीकै आधारमा धारणा बनाउने युवा हो ।

दृष्यमा छुटेको निर्मल

फिल्ममा बेला बेला देखिने पात्र भए पनि उसको भुमिका न्यायपुर्ण छ । तर आफैलाई कति पल्ट देखाउनु भनेर निर्देशक निश्चल बस्नेतले ‘सेल्फ एडिटिङ’ गरेका हुन् कि जस्तो गरेर एउटा दृष्य, जहाँ उनी मुख्य पात्रलाई ‘तपाईहरु पनि उस्तै रैछ’ भनेर आक्रोश पोख्छ, त्यहाँ निर्मलको उपस्थितीको अर्थ हुँदाहुँदै पनि आवाज मात्र सुनाइन्छ ।

फिल्ममा महत्वपुर्ण पात्र नभएकाले उसको नाम समेत दर्शकलाई सम्झना नभएको हुन सक्छ । त्यस्तोमा उसको आवाज मात्र सुनाइनुले दर्शकलाई आवाज पहिचान गर्न समेत समय लाग्छ । यसले गर्दा दर्शकलाई कोसँग कुरा भएको हो भन्ने बुझ्न गाह्रो पर्छ ।

निर्मल जुझारू कि अनुशासित

निर्मल एउटा सन्दर्भमा १५ मिनेट ढिलो पुग्छ । १५ मिनेट मात्रै ढिलो हुँदा पनि सम्पुर्ण काम बिग्रिन्छ । काम हुन पाउँदैन । यसमा निर्मलले कुनै पनि आक्रोश देखाउँदैन । अघिल्ला दृष्यहरुमा जुधारू युवाकारूपमा देखिएको निर्मलमा आक्रोश नदेखिनु अस्वभाविक लाग्छ । उसको चरित्रसँग तालमेल नभएको जस्तो लाग्छ ।

निर्मल निराश भएर भन्छ, ‘यो पाली यस्तै भो, अर्को पाली मिहिनेत गरौँला ।’

निर्मलको यो भनाई उसको चरित्रसँग नमिलेको हो वा निर्मल स्वभावले नियम कानुनको पालना गर्ने अनुशासित व्यक्ति हो भन्ने प्रस्ट खुल्दैन । तर परम्परागत राजनीतिसँग वाक्क भएको युवा भएको हुनाले नियमलाई जस्ताको तस्तै मान्ने युवा हो निर्मल भन्न नसकिने भने होइन ।

Leave a Reply