साम्राज्ञीविरुद्ध भुवन केसीले आफ्नो चरित्रहत्या गर्न खोजेको भन्दै दिए उजुरी

साम्राज्ञीले गएको शुक्रवार इन्स्टाग्राममा एक भिडियो साझेदार गर्दै चलचित्रमा काम गर्दा निकै नै नराम्रो व्यवहार भोगेको बताएकी थिइन् । सेयर गरेलगत्तै साे भिडियो निकै भाइरल भएको थियो । साम्राज्ञीले भिडियो सेयर गर्नुभन्दा केही समय अगाडि आफ्नो डेब्यु चलचित्र ‘ड्रिम्स’को छायांकनमा अभिनेता अनमोल केसी र आफूमाथि पक्षपात गरिएको समेत बताएकी थिइन् । यसैको आधारमा साम्राज्ञीले बोलेको भोलि पल्ट अभिनेता तथा निर्माता भुवन केसीले साम्राज्ञीलाई इंगित सामाजिक सञ्जाल फेसबुकमा ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’ भन्दै स्ट्याटस लेखेर जवाफ दिएका थिए । साम्राज्ञीले भूवनको भनाइको समेत भिडियोमार्फत जवाफ दिएकी थिइन् । इन्स्टाग्राममा एक भिडियो सेयर गर्दै साम्राज्ञीले यो अवस्था उहाँकै कारणले निम्तिएको र आफूसँग राम्रो ब्यवहार गरेको भए यो अवस्था नै आउने बताएकी थिइन् । जापानमा आफूमाथि दुर्व्यवहार भएको पनि साम्राज्ञीले बताएकी थिइन् ।

अब भने भुवन केसी र साम्राज्ञी आरएल शाहको विवादले नयाँ मोड लिएको छ । बिहीबार दिउँसो भुवनले फेसबुकमार्फत नै साम्राज्ञीलाई चेतावनी पत्र लेखेका छन् । जसमा उनी भन्छन्, ‘आफूलाई ब्रेक दिने पिता तुल्य व्यक्तिको बारेमा अनर्गल तथा झुटा कुराहरू उल्लेख गरी तपाईँले मेरो बारेमा आफ्नो इन्स्टाग्राममा भिडियो बनाइ पोस्ट गर्नु भएको सामाग्रीहरूको सम्बन्धमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ’ । योसँगै उनलाई चेतावनी दिँदै भुवन लेख्छन्, ‘चलचित्रको क्षेत्रमा रातो दिन कार्यरत रही मैले हासिल गरेको मान प्रतिष्ठामा आघात पुग्ने गरी पुन : त्यस्ता मानमर्दन हुने प्रकारका सामग्रीहरू इन्स्टाग्राम, फेसबुकमा या अन्य कुनै पनि सामाजिक सञ्जालमा पोस्ट नगर्न हुन सूचित गर्दछु ।’

त्यति मात्र नभएर अभिनेता केसीले चलचित्र कलाकार संघमा सत्यतथ्य छानविनको माग गर्दै निवेदन पेश गरेका छन् । उनले बिहीवार संघको कार्यालय पुगेर निवेदन दिएका हुन् । उनले संघमा दिएको निवेदनमा लेखिएको छ, ‘म विगत ४ दशकदेखि अभिनय र निर्माणको काममा नियमित छु । यसबीचमा धेरै चलचित्रकर्मीसँग मैले काम गरेँ । साम्राज्ञीलाई पनि मैले चलचित्रको मुख्य भूमिकामा काम गराएको छु । आजभन्दा ५/६ वर्ष अगाडि निर्माण गरेको चलचित्र ‘ड्रिम्स’ मा मैले कुनै किसिमको दुर्व्यवहार गरेको छैन । यो कुरा त्यतिबेला काम गर्ने चलचित्रकर्मीलाई सोध्दा पनि थाहा हुन्छ ।’

Leave a Reply