नेपाली फिल्म क्षेत्रमा ‘नेपोटिजम’, गफ मात्रै कि साँच्चै छ ?

– कुमार बेन

बलिउडमा सँधै नेपोटिजमको कुरा उठिराखेकै थियो तर सुशान्त सिंह राजपुतको आत्महत्या पछि बलिउडमा झन् गहनताका साथ नेपाटिजमको बहस उठिरहेको छ ।

कहिलेकाँही मात्रै नेपोटिजमको कुरा उठ्ने गरेको नेपाली फिल्म उद्योगमा पनि सुशान्त सिंह राजपुत पछिको बलिउडको अवस्थाले फरक अवस्था सिर्जना गरायो । नेपालमा पनि यो सम्बन्धि निकै विवाद र चर्चा भयो । धेरै सेलिब्रिटीले यो चासो दिएर पोस्ट गरे । धेरै बिषय थियो, नेपोटिजमले गर्दा राम्रो कलाकारको मौका नपाएको अनि नेपाली फिल्म क्षेत्र अगाडी बढ्न नसकेको कुरा समेत उठाए ।

वास्तवमा नेपोटिजम के हो ?

नेपोटिजम भन्नाले आफन्त वा साथीभाईलाई मौका दिनुलाई बुझाउछ । नेपाली फिल्म क्षेत्रमा भन्ने हो भने आफन्त वा साथीभाईलाई फिल्ममा मौका दिनु हो । नेपालको प्रसंगमा यसका उदाहरणहरु कम नै छन् तर पनि केहि उदाहरणहरु भने छन् । दिपक रायमाझीले आफ्नो भाञ्जा राजेश हमाललाई युगदेखि युगसम्म, अशोक शर्माले अंकित शर्मालाई रातो टिका निधारमा, झरना थापाले सुहाना थापालाई ए मेरो हजुर ३ मा काम गराउनु यसका उदाहरणहरु हुन् ।

त्यस्तै, भुवन केसीका छोरा अनमोल केसी, टिका पहारीका छोरा गौरव पहारी, शोभित बस्नेतका छोरा सलोन बस्नेत, नारायण पुरीका छोरा संयम पुरी, गोपालराज मैनालीकी छोरी सज्जा मैनाली, राजेन्द्र खड्कीकी छोरी रागिनी खड्की, आकाश अधिकारीका भतिजा आर्यन अधिकारी यस्ता थप केहि उदाहरणहरु हुन् जो आफन्तकै कारणले फिल्म क्षेत्रमा आए । त्यस मध्ये नयाँ पुस्तामा अनमोल केसी सफल भएका छन् भने गौरव पहारी र सलोन बस्नेतलाई पनि फिल्म क्षेत्रमा स्थापित छन् । त्यो बाहेकका अरु केहि फिल्म खेलेर अन्त पेसमा आवद्ध भएका छन् ।

नेपालको सम्बन्धमा हेर्दा खास यो कुराले त्यति धेरै प्रभाव पारेको भने देखिदैन । किनभने अहिले पनि नेपाली फिल्म क्षेत्रमा पारिवारिक पृष्ठभुमिबाट आएका भन्दा अन्य सफलहरुको सूचि लामो छ । पल शाह, प्रदिप खड्का, सौगात मल्ल, दयाहाङ राई, खगेन्द्र लामिछाने, विपिन कार्की, प्रियंका कार्की, बर्षा राउत, साम्राज्ञी शाह लगायत धेरै फिल्म क्षेत्र भन्दा बाहिरबाटै आएका हुन् ।

किन बारम्बार फिल्मकर्मीहरु आफ्ना छोराछोरी वा आफन्तलाई फिल्ममा ल्याउन चाहन्छन् ?

फिल्मकर्मीहरुका सन्तान वा आफन्तहरु फिल्ममा ल्याउन खोज्नु वा आउन खोज्नुमा फिल्मी क्षेत्रसँगको निकटता नै मुख्य हुन्छ । उनीहरुको हुर्काइबढाइ वा निकटता फिल्मक्षेत्रका मानिससँग हुन्छ जसले गर्दा उनीहरुलाई यो क्षेत्रका बारेमा अन्यलाई भन्दा बढि थाहा हुने भयो । त्यस्तै, अहिले स्टार कलाकारका सन्तानका बारेमा पनि दर्शकहरुले चासो दिइरहेका हुन्छन् । जसले गर्दा स्टार कलाकारका सन्तानलाई दर्शकसम्म पुग्न नयाँलाई जस्तो गाह्रो हुदैन । जस्तै करिश्मा मानन्धरकी छोरीको चर्चा बेला बेला हुने गर्छ, जबकी उनले कुनै फिल्म नै खेलेकी छैनन् ।

अर्को कुरा, हरेक फिल्म नाफामा जाने वा घाटामा जाने भन्ने निश्चित हुदैन । नयाँ कलाकार लिएर बनाउदा फिल्म नाफामा जाने भन्ने पनि हुदैन । यसैले उनीहरु आर्थिक जोखिम कम गर्न पनि आफ्नै मानिसहरु छान्छन् भने आफ्नाले मौका पाउदा पछिका लागि बजार विस्तार पनि हुने भयो र उनीहरुको करिअरको नयाँ सम्भावना पनि देखिन सक्ने भयो ।

अनि सबै भन्दा महत्वपुर्ण कुरा, जोखिम मोलेर फिल्म बनाइन्छ । नयाँलाई लिएर बनाएको फिल्म हिट भएको खण्डमा मेकरले पैसा कमाउछ भने खेल्ने कलाकारको पनि मुल्य बढ्छ । बाहिरको कलाकार हिट भयो भने त्यो मेकरले अर्को फिल्म खेलाउदा त्यहि कलाकारलाई बढि मुल्य तिर्नु पर्छ अथवा त्यो कलाकारले अर्को कसैको फिल्म खेल्न थालिसकेको हुन्छ, जसले गर्दा समय नपाउने सम्भावना पनि हुन सक्छ । कलाकार आफ्नो नियन्त्रणमा हुदैन । जस्तै : प्रेमगीत २ को सफलता पछि सन्तोष सेनले प्रदिप खड्कासँग काम गर्न केहि समय कुर्न पर्यो । हेमराज बिसीले अनमोल केसीको पहिलो चार मध्ये ३ फिल्म बनाए तर अहिले अनमोल हिट भइसके पछि हेमराजसँग नयाँ फिल्म बनाउन चासो दिएको देखिदैन ।

अनमोल, गौरव, सलोन, सवस्तिमा, नाजिर फिल्ममा जम्दै गर्दा तिनीहरुलाई पहिलो मौका दिने सुनिल रावल आफु भने अमेरिका पलायन भइसकेका छन् । पारिवारिक सम्बन्ध बाहेकका कलाकारहरुमा यस्तो समस्या देखिए पनि एउटै परिवारमा यस्तो समस्या हुदैन । जस्तो सुकै अवस्था भए पनि अनमोल केसीले फिल्मको कारणले भुवन केसीलाई छोड्ने भन्ने हुन्न । अनि, अहिलेको अवस्थामा भुवन केसीले फिल्म बनाउदा बाहिरकोलाई ल्याउनु भन्दा अनमोललाई नै खेलाउदा लगानी फिर्ता पक्कै हुन्छ र नाफाको पनि अधिक सम्भावना देखिन्छ । यस्तो अवस्थालाई नजरअन्दाज गरेर बाहिरको र नयाँ कलाकार लिएर कसले फिल्म बनाउला र ?

यसरी हेर्दा नेपोटिजमको अवस्था रहनुका प्राबिधिक कुराहरु पनि छन् । तर यति हुदाहुदै पनि नेपोटिजमकै कारण कोही पनि सफल भइराख्न भने सक्दैन । आखिर हुने त सबै कलाकारको क्षमता र दर्शकको हातमा हो । पक्कै पनि करिअरको सुरुवात हुनुमा नेपोटिजमले फाइदा गर्छ, तर टिक्ने त आफ्नै बलबुताले हो ।

यसैले नेपोटिजमको कारणले नेपाली फिल्म क्षेत्रमा टिक्नै पाइएन भन्ने अवस्था देखिएको छैन तर कोही आफ्नो नभएकै कारणले राम्रो कलाकारले क्षेत्रमा प्रवेश नपाउँने अवस्था भने बन्न सकेको हुन सक्छ । यस्तोमा फिल्म मेकरहरुले घर भित्र भन्दा बाहिर आफुले चाहेको भुमिकामा अभिनय गर्न सक्ने अब्बल कलाकार छ कि भनेर नजर भने दौडाइराख्नु पर्छ । आखिर फिल्म बनाउँने भनेको नाफा कमाउनका लागि नै त हो । राम्रो र पात्र मिल्दो कलाकार भए फिल्म यसको सम्भावना अधिक हुन्छ ।

Leave a Reply