साम्राज्ञीको आरोप,‘भुवन केसीको घिनलाग्दो व्यवहार’(भिडियो)

गएको शुक्रवार अभिनेत्री साम्राज्ञी आरएल शाहले इन्स्टाग्राममा एक भिडियो साझेदार गर्दै चलचित्रमा काम गर्दा निकै नै नराम्रो व्यवहार भोगेको बताएकी थिइन् । सुटिङमा खाना र पानी माग्दा निर्माता/निर्देशकले अपशब्द बोल्ने गरेको उनको भनाई थियो । यसकै जवाफमा भुवन केसीले आइतवार साँझ सामाजिक सञ्जाल फेसबुकमा साम्राज्ञीलाई कटाक्ष गर्दै ब्रान्ड बेचेर चलचित्र क्षेत्रमा नाम कमाइरहेको र जुन थालमा खाने त्यही थालमा दुलो पार्ने आरोप लगाएका थिए । अब, साम्राज्ञीले भूवनको यो भनाइको समेत भिडियोमार्फत जवाफ दिएकी छन् । इन्स्टाग्राममा एक भिडियो सेयर गर्दै साम्राज्ञीले यो अवस्था उहाँकै कारणले निम्तिएको र आफूसँग राम्रो ब्यवहार गरेको भए यो अवस्था नै आउने बताएकी छन् ।

उनले जापान अवार्डमा भुवन केसीले आफूमाथि नराम्रो व्यवहार गरेको आरोप पनि लगाएकी छन् । अवार्डमा अभिनेता केसीले भनेको कुरा सम्झँदै उनले थपेकी छन्, ‘तँ त मेरो प्रोडक्ट हो । अब पुरानो कुरा कोट्याएर के फाइदा, तँ एउटा ठाउँमा पुगिसकिस् यस्तो कुरा नगर भनेर मलाई सम्झाउनुभयो । त्यतिबेला मलाई भित्रैदेखि घिन लागिरहेको थियो । तै पनि हाँसेर बोलेँ ।’

ती कुराहरु भनिरहँदा भुवन केसीले आफूमाथि ह्यारेस्मेन्ट गरेको आशय व्यक्त गर्दै साम्राज्ञीले थपेकी छन्, ‘ती कुराहरु अलि टाढाबाट पनि भन्न सकिन्छ नी । गाला जोड्याएर, टाँस्सिएरै भन्नु पर्छ र ? छोरी अब यस्तो नगर है भन्दै गालामा मुख जोड्याएरै भनिराख्नुभएको थियो । तै पनि म सुनिरहेँ । उहाँलाई ‘अंकल’ भन्दा मन पर्दैन । त्यसैले मैले उहाँलाई ‘हुन्छ दाई’ भन्दै धकलेँ ।’ आफूमाथि नराम्रो व्यवहार गर्ने भुवन केसी पहिलो व्यक्ति नभएको पनि साम्राज्ञीको भनाई छ । उनले भिडियोमा भुवन केसीको नाम उच्चारण भने गरेकी छैनन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र निर्माता तथा निर्देशक भुवन केसीबीच सामाजिक सञ्जालमा जुहारी चलिरहेको छ ।यी दुई एक अर्कालाई आरोप लगाउनका लागि सामाजिक सञ्जालको प्रयोग गरिरहेको देखिन्छ ।

 

Leave a Reply