चलचित्र विकास बोर्ड अध्यक्षका लागि सोहित मानन्धर कतिको योग्य?

नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि आवद्ध रहेका नायक तथा चलचित्र निर्माता हुन्, सोहित मानन्धर । एक प्रतिभाशाली अभिनेता हुनुका साथै अष्टनारायण हलका मालिक समेत रहेका सोहित कम्प्युटर इन्जिनियर पनि हुन् । अष्टनारायन, देशकै सबैभब्दा ठूलो पर्दा भएको हल हो । रिदम, नाइ नभन्नु र २, भुल भुलैया, जात्रै जात्रा, पोइ पर्यो काले, हिटलर लगायतमा चलचित्रमा अभिनय गरिसकेका सोहितले नेपाल भाषाको सिनेमा मु मदुगु जिन्दगी र लाखयभाजुमा पनि अभिनय गरेका छन् । उनले आफ्नै लगानिमा चलचित्र ‘हिटलर’ निर्माण गरेका थिए ।

चलचित्र क्षेत्रमा सक्रिय भएर काम गरिरहेका सोहित कोभिड-१९ को विश्वव्यापी महामारी र नेपालमा लकडाउन सुरु हुनुअघि चलचित्र निर्माण र अभिनयमा व्यस्त थिए । गत वर्ष मंसिर २९ गते बोर्डका अध्यक्ष केशव भट्टराईको असामयिक निधनपछि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि सोहित मानन्धर पनि दौडधुपमा छन् । सोहित बोर्ड अध्यक्षमा युवापुस्ता आउँदा नयाँ शैलीको काम हुने तर्क गर्छन् । बोल्नमा सिपालु सोहित अध्यक्ष भए चलचित्र क्षेत्रका लागि निकै राम्रो हुने देखिएको छ । सोहितले चलचित्रहरूमा अभिनय, निर्माण र निर्देशन गर्ने अनुभव पनि हासिल गरेका छन् । सोहितले अष्ट नारायण पिक्चर्स परिवारको हिस्सा भएर नेपाली चलचित्र उद्योगलाई गहिराईमा बुझेका छन् । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि सोहीत समान उम्मेदवार हुन् ।

लकडाउनका कारण घरमै रहेका सोहित नेपाली चलचित्र क्षेत्रको भावी अवस्था र पुनरुत्थानका बारेमा इञ्जिनियरिङ ग्राफ तयार पार्ने काममा जुटेका छन् ।चलचित्र विकास बोर्डको अध्यक्षका लागि सञ्चार मन्त्रालयमा अन्तरवार्ता दिने क्रममा मानन्धरले नेपाली चलचित्र क्षेत्रलाई आगामी दिनमा नयाँ रुपमा पुनरुत्थान गर्नुपर्ने बताएका थिए । नेपाली चलचित्र उद्योगसहित यसमा आवद्ध निर्माता,निर्देशक, कलाकार, प्राविधिक सहित सबैलाई राहत पुग्नेगरी कार्ययोजना ल्याउनुपर्नेमा उनको जोड छ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमार्फत् चलचित्र उद्योगको पुनरुत्थानको आर्थिक विशेष योजना ल्याउनेमा सोहित आशावादी देखिएका छन् । सोहितले आर्थिक योजना अन्तरगत सरकारलाई थप भार नपर्नेगरी आगामी वर्षदेखि नेपाली चलचित्रहरुमा पनि विकास शुल्क लगाउनुपर्ने बताएका छन् । चलचित्र क्षेत्रसँग सरोकार राख्नेहरुसँगको छलफल पछि नेपाली चलचित्रहरुमा पनि विकास शुल्क लगाउनुपर्ने सोहितको भनाई छ । नेपाली चलचित्रमा पनि विकास शुल्क लागु गरिए नेपाली चलचित्रको लगानी र आम्दानीमा पारदर्शीता आउनुका साथै बक्सअफिसलाई अझै सहज हुने सोहितको दाबी छ । साथै विकास शुल्क राखेर बन्ने कोष मार्फत् नेपाली चलचित्र तथा कलाकारहरुको बिमा तथा देशी तथा विदेशी लगानीकर्ताहरुसँग बैकिङ कारोबारको ग्यारेन्टी गर्न सकिने सोहितको तर्क छ । साथै कलाकारहरुलाई भैपरी आउने समस्या व्यवस्थापनमा पनि सहज हुने सोहितको दाबी छ ।

लकडाउनका कारण लामो समय चलचित्र क्षेत्रमा संकट पर्ने भएकाले चलचित्र हलहरुको बिजुली, पानी, टेलिफोनसहित बैंकको किस्ता लगायतमा सहुलियतमा सहज गर्नका लागि सैद्वान्तिक व्यवस्था गर्न पनि सरकारसँग सोहितले माग गरेका छन् ।लकडाउनपछिको कोभिड-१९ को अवस्थाले नेपालको पहिचान र वास्तविक अवस्थाको मुल्यांकन गरि विदेशी चलचित्रहरुको छायंकन लगायतका गतिविधि नेपालमा बढाउनेगरी योजना हुनुपर्नेमा सोहितले जोड दिएका छन् । नेपालको प्राकृतिक एवं धार्मीक तथा साँस्कृतिक सम्पदाहरुलाई विश्वव्यापी प्रचार र आयआर्जनका लागि पनि विदेशी चलचित्र छायांकन लागि नेपालमा विशेष छुट सहितका व्यवस्था गर्नुपर्ने उनको भनाई छ । चीन र भारतको जनसंख्यालाई ध्यानमा दिएर नेपालमा ति देशका निर्मातालाई चलचित्र छायंकन र सहकार्यमा निर्माणका लागि प्रेरित गर्नेगरी बोर्डले नीति तय गर्नुपर्नेमा जोड दिएका छन् । उद्योगको मान्यतापछि नेपाली चलचित्रमा रोजगारीका नयाँ अवसर समेत पैदा भएको बताउँदै सोहितले विदेशी चलचित्र निर्मातालाई नेपालमा छायाँकनका लागि बोलाउन सकिए हजारौं युवाले यो क्षेत्रमा रोजगारीको अवसर पाउने भएकाले आफू अध्यक्ष भएमा यस खालको कार्ययोजना ल्याउने सोहितको दाबी छ । सरकारले तत्कालीन, मध्यकालीन र दीर्घकालिन सोच र योजनासहित चलचित्र उद्योगको विकासका लागि कार्ययोजना ल्याउनुपर्नेमा सोहितको जोड छ ।

चलचित्र विकास बोर्डमा योग्यताका आधारमा हो कि राजनीतिक आस्था र शक्तिकेन्द्रसँग निकट भएको आधारमा अध्यक्ष नियुक्त हुने त्यो भने भन्न सकिन्दैन । चलचित्र विकास बोर्ड अध्यक्षका लागि सोहितको तयारी र नेपाली चलचित्र उद्योगलाई बचाउने सोहितको उपाय सराहनीय छ । चलचित्र क्षेत्रको विकास र विस्तारका लागि सोहितले उल्लेखनीय काम गर्न सक्ने दाबी गरे पनि चलचित्र विकास बोर्डका अध्यक्षमा सोहित नियुक्त हुने सम्भावना कतिको बलियो रहेको छ,त्यो भने अहिले नै भन्न गाह्रो छ ।

Leave a Reply