धुर्मुस सुन्तलीको पहिलो सहयोग अप्ठेरोमा परेका विद्यार्थीलाई

विश्व यतिबेला कोरोना भाइरसबाट आक्रान्त छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण यतिबेला नेपाल पनि लकडाउनमा छ । यो भाइरसको संक्रमण फैलिन नदिन सरकारले बैशाख १५ गतेसम्मलाई लकडाउन गरेको छ । लकडाउनले दैनिक काम गरेर जीविका चलाउने देखी मध्यम वर्गका मानिस सहित विद्यार्थीहरूलाई निकै समस्या परेको छ । यस्तो अवस्थामा विभिन्न व्यक्तिहरूले आफ्नो ठाउँबाट सक्दो सहयोग गरिरहेका छन् ।

नेपाली सेलिब्रेटीहरूले पनि आ-आफ्नो तर्फबाट सहयोग गर्दै र अरुहरूलाई पनि आफूले सक्दो सहयोग गर्न अपिल गर्दै आएका छन् । यसै बिच समाजसेवी कलाकार द्वय सीताराम कट्टेल ‘धुर्मुस’ र उनकी पत्नी कुञ्जना घिमिरे ‘सुन्तली’ले पहिलो चरणको राहत वितरण गरेका छन् । धुर्मुस सुन्तली फाउन्डेसनमार्फत लकडाउनका कारण समस्यामा परेका कीर्तिपुरमा बसेका त्रिभुवन विश्वविद्यालयसहितका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई राहतस्वरुप चामल, दालसहित खाद्यान्न प्रदान गरेका हुन् ।

कीर्तिपुर त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत २ सय विद्यार्थीहरूको लागि २ सय बोरा चामल ,६ सय केजी दाल , २ सय लिटर तेल , २ सय प्याकेट नुन र २ सय कार्टुन बिस्कुट वितरण गरिएको हो पहिलो चरणको राहत वितरण कार्यक्रममा विद्यार्थीहरूलाई सहयोग गरेको र यसपछि चरणबद्ध रूपमा विद्यार्थीसहित लकडाउनका कारण समस्यामा परेकाहरूलाई राहत प्रदान गरिने उनीहरूले जानकारी दिएका छन् ।

Leave a Reply