पूजाले प्राविधिकलाई २ लाख बराबरको खाद्यन्न सहयोग गर्ने

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड-१९को जोखिमबाट बच्न नेपाल सरकारले घोषणा गरेको लकडाउनले सबै नेपालीहरुको जीवन अस्तव्यस्त बनेको छ । कोरोनाको त्रासले गरिएको ‘लकडाउन’का कारण दैनिक काम गरेर घर चलाउने नेपाली चलचित्रका प्राविधिकहरू पनि निकै समस्यामा परेका छन् । ‘लकडाउन’ पछि चलचित्र प्राविधिकहरुलाई बिहान बेलुका हात-मुख जोर्नै समस्या भएपछि चलचित्र प्राविधिक संघले फिल्मकर्मीसँग सहयोगको अपिल गरेको थियो ।

शुक्रवार ‘छक्का पञ्जा’ टिमले प्राविधिकहरुका लागि १ लाख १० हजार दिने घोषणा गरेको केही घण्टापछि अभिनेता पल शाहले पनि सामाजिक सञ्जालको माध्यमबाट ५ लाख रुपैयाँ सहयोग घोषणा गरेका थिए। त्यस्तै अब नायिका पूजा शर्माले पनि २ लाख बराबरको खाद्यन्न प्राविधिकको परिवारलाई वितरण गर्ने भएकी छन् । बिहान बेलुकाको छाक टार्नै समस्या हुने प्राविधिकहरुलाई सहयोगका लागि प्राविधिक संघले विपन्नता व्यवस्थापन कोष समेत खडा गरेको छ ।

Leave a Reply