प्रियंका र आयुष्मानले गरे सडक जनावरको रक्षाको लागी सहयोग(भिडियो)

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड-१९को जोखिमबाट बच्न नेपाल सरकारले घोषणा गरेको लकडाउनले सबै नेपालीहरुको जीवन अस्तव्यस्त बनेको छ । कोरोनाको त्रासले गरिएको ‘लकडाउन’का कारण मानिसको जनजीवन त प्रभावित भएकै छ साथमा पशुपक्षी समेत प्रभावित भएका छन् । सबै मान्छे घरभित्र भएको बेला सडकमा भएका जनवार भोकै परेका छन् । यस समस्यालाई ध्यानमा राख्दै भोकै परेका जनावरको लागी सहयोग गर्ने र सहयोगको अपिल गर्ने बढ्दै गइरहेका छन् । यसै बिच सडकमा रहेका पशुहरूको उचित व्यवस्थापन र खानपानको लागी अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले १ लाख सहयोग गर्ने भएका छन् । यस बारे प्रियंका र आयुष्मान आफैले सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा भिडियो मार्फत जानकारी दिएका हुन् ।

उनीहरूले सञ्चालन गरेको ‘आयांका फाउन्डेसन’का तर्फ बाट ‘विश्व सामुदायिक पशु दिवस’को अवसर पारेर उक्त रकम सहयोग गरेका हुन् । आयंका जोडीले ‘एनिमल नेपाल’ नामक संस्थालाई एक लाख हस्तान्तरण गरेका हुन् । एनिमल नेपालले चलाउने, ‘एक कचौरा पानी, र एक कचौरा खाना’ अभियानमा पनि आयंका जोडीको साथ रहने बताइएको छ । कुनै पनि निर्दोष जनावरले भोकै बस्नु नपरोस् भनि आफ्नो घरमा रहेको बोतल अथवा अन्य केही भाडामा आफ्नो घर अगाडी पानी र खाना राखिदिनेको लागी अनुरोध समेत गरिएको छ ।

Leave a Reply