नेपालमा छायांकन भएको ‘उचाइँ’को पोस्टरमा अमिताभ, अनुपम र बोमन

नेपालमा छायांकन भएको बलिउडको चलचित्र ‘उचाइँ’को एक पोस्टर सार्वजनिक भएको छ । आगामी ११ नोभेम्बर २०२२ अर्थात् कात्तिक २५ गतेलाई प्रदर्शन हुने चलचित्रको सार्वजनिक पोस्टरमा अमिताभ बच्चन, बोमन इरानी र अनुपम खेरलाई देख्न सकिन्छ । हिउँले सेताम्मे सगरमाथाको दृश्यलाई पृष्ठभूमिमा राखेर सार्वजनिक गरिएको पोस्टरमा नेपालको हिमाली क्षेत्रको पदयात्रामा निस्किएका यी तीन पात्रले थकान मार्दै गरेको चित्रण गरिएको छ ।

सूरज बडजात्या निर्देशित मल्टीस्टारर ‘उचाइँ’को २०७८ सालको कात्तिकमा करीब २५ दिन नेपालको खोटाङको नाम्चेदेखि लुक्ला,बेसीसहर,काठमाडौं र विभिन्न क्षेत्रमा छायांकन भएको थियो । यो अवधिमा निर्माण टिमले करीब २० करोड नेपालमा खर्च गरेको थियो । चलचित्रले मित्रताको कथा भन्ने छ ।

चलचित्रको छायांकनका लागि भारतीय कलाकारहरु अनुपम खेर, बोमन इरानी, परिणीति चोपडा, सारिका हसन लगायत नेपाल आएका थिए । चलचित्रमा अमिताभ बच्चनको पनि अभिनय रहेको छ । तर, उनी भने स्वास्थ्य अवस्थाका कारण नेपाल आउन सकेनन् । नेपालमा उनको भागको छायांकनका लागि डुब्लिकेटको प्रयोग गरिएको थियो ।

चलचित्रमा नेपाली कलाकारहरु परमिता आरएल राणा, सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी, सरोज प्रजु लगायतको पनि अभिनय छ । चलचित्रको नेपाल व्यवस्थापन थ्री ह्विलर्स कम्पनी हेरेको छ ।

Leave a Reply