अमेरिकी गायिका पिङ्कले कोरोना संक्रमणपछि १० लाख डलर राहत घोषणा गरिन्

अमेरिकाकी चर्चित लेखिका तथा गायिका पिङ्कले आफूलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको घोषणा गरेकी छिन् । साथै, उनले आफूले फिलाडेल्फियाको एक अस्पताललाई पाँच लाख डलर बराबरको सहयोग गर्ने र अस्पतालले उक्त रकममा कोभिड-१९ बाट पीडितको उपचारमा खर्च गर्ने जानकारी दिएकी छिन् । त्यस बाहेको अर्को पाँच लाख डलर लस एन्जलसका मेयरको राहत कोषमा दिने पनि उनले घोषणा गरिन् । यद्यपि पिङ्क र संक्रमणको लक्षण देखिएको उनको तीन वर्षे छोराको दोस्रो परीक्षण भने निगेटिभ भइसकेको उनले दाबी गरेकी छिन् । यस बारे पिङ्क आफैले सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा तस्विर मार्फत जानकारी दिएकी हुन्  ।

ग्रामी अवार्ड जितेकी चर्चित गायिकाले ट्रम्प सरकारको आलोचना गर्दै लेखेकी छिन्, “परीक्षणलाई अझ विस्तारित पहुँचमा पुर्‍याउन नसक्नु हाम्रो सरकारको पूर्ण असफलता हो । यो रोग गम्भीर छ र वास्तविक हो । हामीले परीक्षणलाई निःशुल्क र सबैको पहुँचमा पुर्‍याएर हाम्रा बालबालिका, परिवार, साथीसङ्गी र समुदाय बचाउनुपर्छ ।”

Leave a Reply