‘प्रेमगीत ३’ टिमद्वारा ११ हजार मास्क निःशुल्क वितरण

चलचित्र ‘प्रेमगीत ३’ को निर्माण टिमले सर्वसाधारणलाई मास्क वितरण गरेको छ । कोरोना भाइरस संक्रमणको त्रास फैलिएसँगै बजारमा मेडिकल मास्क अभाव भएपछि चलचित्रको टिमले निःशुल्क मास्क वितरण गरेको हो । आइतवार दिउँसो चलचित्रका निर्माता सन्तोष सेन, अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङले कोटेश्वर, लगनखेल र गोंगबु क्षेत्रमा मास्क बाँडेका हुन् ।

आइतवार मात्र ११ हजार मेडिकल मास्क वितरण गरिएको निर्माता सेनले फेसबुकमार्फत् जानकारी दिए । उनले भने, ‘बजारमा मास्क अभाव भएको थाहा पाएपछि देशको एक जिम्मेवार नागरिक भएको हैसियतले मास्क वितरण गरेका हौं । यो मुश्किल परिस्थितिमा कुनै पनि बेला सरकारलाई आवश्यक पर्छ भने हाम्रो फिल्म ‘प्रेमगीत ३’ को सम्पूर्ण टिम सहयोग गर्न तयार छ ।’ चलचित्रको टिमले सर्वसाधारणलाई मास्क वितरण गर्दै सर्तकता अपनाउन पनि आग्रह गरेको थियो । ‘प्रेमगीत ३’ को अहिले पोस्ट प्रोडक्सनको काम भैरहेको छ । निर्माता सेनले स्थिति सामान्य भएपछि चलचित्रको नयाँ प्रदर्शन मिति घोषणा गर्ने जानकारी दिए । प्रदर्शन स्थगित हुँदा पोस्ट प्रोडक्सनका लागि थप समय मिलेकोमा उनी खुसी छन् ।

चलचित्रमा प्रदीप खड्का तेस्रो पटक ‘प्रेम’को रुपमा देखिँदैछन् भने नव-अभिनेत्री क्रिस्टिना गुरुङ ‘गीत’ र सन्तोष आफैँ ‘अंगत’को भूमिकामा पर्दामा देखिनेछन् । प्रदीप र क्रिस्टिनाका साथमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको पनि अभिनय हेर्न सकिनेछ । डेढ सय वर्ष अगाडिको कथा समेटिएको चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेका हुन् । चलचित्रको सार्वजनिक गरिएको दुई गीत र टिजरले दर्शकको सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ ।



Leave a Reply