‘झिँगेदाउ’को ‘आगो बिना बिँडी जल्दैन’ गीतलाई टिकटकमा दर्शकले रुचाउँदै

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको चलचित्र ‘झिँगेदाउ’को पहिलो गीत ‘आगोबिना बिंडी जल्दैन’ गत साताको मंगलबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरेर सार्वजनिक गरिएको थियो।

यूट्युबमा सार्वजनिक भए लगत्तै उक्त गीतमा टिकटक बनाउनेको संख्या बढी छ । गीतको ‘आगोबिना बिंडी जल्दैन’ लाइनलाई दर्शकहरुले अत्याधिक रुचाएका छन् भने यही लाइनमा टिकटक बनाउनेको संख्या ठूलो छ । पछिल्लो समय टिकटकमा गीत हिट हुनु चलचित्रका लागि अत्यन्त फाइदाजनक मानिन्छ । ‘संगीत निकै राम्रो भएको कारणले पनि गीतले टिकटकमा राम्रो प्रथामिकता पाएको हो’ चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजाले भने ‘गीतको प्रतिक्रिया समेत राम्रो आइरहेको छ । यो सकारात्मक प्रतिक्रिया फिल्म सफल हुने संकेत हो ।’ गीतले अहिलेसम्म युट्युवमा ८ लाख बढी भ्युउज पाएको छ ।

गीतको भिडियोमा चलचित्रका चार प्रमुख कलाकारहरु केकी अधिकारी, मुकुन भुषाल, आँचल शर्मा र कुशल विष्ट छमछमी नाचिरहेका देखिएका छन् । गीतको अडियो राम्रो बनेको छ । तर, अडियोअनुसार कोरियोग्राफीमा भने भिडियो खासै सशक्त बनेको छैन । गीतको अडियो र भिडियो एकआपसमा मेल नखाएको भान हुन्छ । गीतको भिडियोमा ठूलो संख्यामा कोरस डान्सर प्रयोग गरिएको छ जसको आवश्यकता महशुस हुन्न ।

गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । ललितपुरको शिरकाली चौरमा छायांकन गरिएको गीतमा १५ लाख बढि खर्च भएको थियो। आगामी भदौ १७ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा केकी र आँचलले पहिलो पटक एकसाथ काम गरेका हुन् । गीतमा मुक्त उदासको शब्द रचना र अर्जुन पोखरेलको संगीत रहेको छ भने शान्तिश्री परियार र प्रविन बेडवालको युगल स्वर सुन्न सकिन्छ ।

कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको चलचित्र भिमनिधि तिवारीको कथा ‘झिँगेदाउ’मा आधारित रहेको छ । प्रदीप भारद्वाजको पटकथा तथा सम्वाद लेखेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन छ । चलचित्रमा सुलभ, समिक्षा र सुशिल निर्माताको रुपमा रहेका छन् ।
‘झिँगेदाउ’को गीत हेर्नुहोस् :-

Leave a Reply