‘कमेडी च्याम्पियन’को फिनालेको टिकट बिक्रीमा

नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को फिनाले चैत १ गते हुँदै छ । पछिल्लो समय निकै रुचाइएको कमेडी च्याम्पियनको फिनालेको टिकट बिक्री खुला गरिएको छ । दर्शकको लागी जम्मा दुई सय टिकट मात्रै बिक्रीमा राखिएको छ भने प्रति टिकटको मूल्य तीन हजार रुपैयाँ राखिएको छ । टिकट इसेवामार्फत लिनुपर्नेछ । च्यासलस्थित स्टुडियो मै ग्रान्ड फिनाले आयोजना हुने भएकाले सीमित मात्र टिकट बिक्री गर्न लागिएको निर्देशक विशाल भण्डारीले बताएका छन् । कोरोना भाइरसको प्रभावका कारण होटेल सोल्टी वा आर्मी अफिसर क्लब मध्ये एकमा गर्ने तयारी रोकिएको उनले थपे ।

धेरै मानिस उपस्थित हुने कुनै पनि कार्यक्रम नगर्न सरकारले आग्रह गरेको र सङ्क्रमणको जोखिम भएकाले शोको फिनाले स्टुडियोमै गर्नु परेको हो । आउँदो शनिबार अपरान्ह ४ बजेदेखि साँझ ७ बजेसम्म तीन घण्टा हुने फिनाले कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य (मह जोडी) र राजेश हमाल रहने छन् । विजेताको लागी सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्तको प्रतिस्पर्धा हुने छ । यति बेला विजेताको लागी भोटिङ भइरहेको छ । सबै भन्दा धेरै भोट पाउने प्रतिस्पर्धी विजेता घोषित हुनेछन् । कमेडी च्याम्पियनको विजेताले २५ लाख नगद र कार प्राप्त गर्ने आयोजकले बताएको छ। शोको होस्ट रिमा विश्वकर्माले नै गर्ने छिन् भने निर्णायक सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्माको पनि उपस्थिति रहने छ ।

Leave a Reply