एक दशकभन्दा अघि सार्वजनिक भएको सफल गजल गीत हो, ‘न बिर्सें तिमीलाई न पाए तिमीलाई’। अञ्जु पन्तको स्वरमा सार्वजनिक भएको यो गजल त्योबेला निक्कै चर्चित भएको थियो । यो गजलको मेल भर्सन जगदीश समालको स्वरमा सार्वजनिक भएको थियो । सोही सुपरहिट गजलको नयाँ भर्सन लोकप्रिय गायिका रचना रिमालको स्वरमा पुनः रेकर्ड गरेर सार्वजनिक गरिएको हो । विपिन किरणले रचेको यो गजलमा महेश खड्काको संगीत रहेको छ। किरण क्रिएसनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा रचना नै फिचर्ड छिन् ।

गीत सार्वजनिक भएसँगै विवादमा पर्यो । गायिका अञ्जु पन्तको स्वर र महेश खड्काको संगीत रहेको यो गजल गीतलाई नयाँ भर्सन भन्दै सार्वजनिक गरिएपछि विवाद भएको हो । यो विषयमा चौतर्फी आलोचना भइरहेको छ र गायिका अञ्जु पन्तले पनि आफ्नो भनाइ सार्वजनिक गर्दै लेखेकी छन्,‘ अहिले नयाँ भर्सनमा गायिका रचना रिमालको स्वरमा रेकर्ड भएछ । मेरी छोरी समान कि रचना नानु लगायत सबै नवआगन्तुक कलाकारप्रति सधैँ स्वागत, आशिर्वाद र धेरै माया छ र रहिरहने छ । उही संगीत उही एरेन्जमेन्ट नयाँ भर्सनमा ओरिजिनल गायक–गायिकाको नाम समेत उल्लेख नगरी अफिसियल भनेर सार्वजनिक हुनु भने दु:खद् र अन्यायपूर्ण कुरा हो । के र कुन उद्देश्यका लागि यस्तो भयो, मलाई थाहा भएन । म एक व्यक्तिको कुरा भन्दा पनि यो चलनले भोलिका दिनमा संगीत र कलाकारलाई दिने सम्मान र आदरको संस्कार नै पो भुल्न लागिरहेका छैनौं भन्ने चिन्ता लागेको छ । ’

तर यो गीतको निर्माता तथा लेखकले फेरि रिमेक बनाउन चाहन्छ भने आफ्नो हिसाबले बनाउन पाइन्छ यसमा विवाद गर्न पर्ने ठाउँ कतै छैन । यसरी गीतको अधिकारलाई लिएर विवाद गर्ने हो भने निर्माताले युट्युबबाट आएको बाहेक पैसा पाएको छैन तर गायिकाज्युले यो गीत सयौ पल्ट स्टेजमा गाएर धेरैनै पैसा कमाइ सक्नु भएको छ । निर्माताले सबै लगानी गर्छ भने उस्ले त्यसको प्रतीफल र फेरि प्रयोग अफ्नो हिसाबले पाउनु नि पर्छ । अब यदि कुनै गायक / लेखक / संगीतकारले त्यसमा आफ्नो भाग खोज्ने हो भने पहिले नै मलाई यो यो चाहिन्छ अनि निर्माताले पनि यदि यो गीत गायकद्वारा स्टेजमा गाउदा रोयल्टी पाउन आशा राख्नु हुन्छ भबे त्यो अनुसार सम्झौता बनाउनुस र गर्नुहोला नत्र यो विवाद आइ रहने सामाजिक कार्यकर्ता कुमार बेन बताउछन् ।

गीतको अधिकार निर्माताको हुन्छ, उसले शब्द, संगीतमा श्रेय दिनै पर्छ तर उसले गायकलाई श्रेय नदिए पनि हुन्छ । उसले चाहना अनुसार आफुले अरुलाई दिन पाउँछ, गीतको संगीतकार र शब्द लेख्नेलाई चाहिँ बिर्सन मिल्दैन किन कि त्यहि शब्द र संगीत प्रयोग भएको हो , अब आवाज नै फरक भएपछि उसलाई श्रेय दिइ राख्न पर्छ भन्ने छैन । अर्को कुरा अन्जु पन्तले यो गीत सयौं पल्ट स्टेजमा गाए , उहाँले यो गीतको सर्जक, संगीतकार र निर्मातालाई त्यो कार्यक्रममा मुस्किलले एक दुई ठाउँमा सम्झे होला , त्यो बेला उहाँले सम्झन नपर्ने अनि अहिले आएर चाहिँ किन विवाद हो ।

अञ्जुले यो विषयमा विवाद र चर्चा नगरी दर्शक-श्रोताको मागअनुसार समाधानको नयाँ उपाय निस्कनेमा आफू आशावादी रहेको पनि बताएकी छन् । साथै, उनले भोलिका दिनमा कोही पनि कलाकार अपमानित र अन्यायमा परेको अनुभूति गर्ने दिन आउने छैन भनेर आशा व्यक्त गरेकी छन् ।

Leave a Reply