पल शाहको ‘मायाबी’को पहिलो सेड्यूल सकियो

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भैरहेको फिल्म ‘मायाबी’को पहिलो चरणको छायांकन सकिएको छ । फिल्मको पहिलो चरणको छायांकन मुस्ताङ र पोखरामा ३० दिन लगाएर गरिएको हो ।

यस अघि फिल्मको निलगिरी हिमाल आसपास क्षेत्रमा छायाकंनको सुरुवात गरिएको थियो । त्यस पछि पोखराका विभिन्न स्थानहरुमा छायाकंन गरिएको हो । फिल्मको पहिलो चरणको छायांकन सकेका निर्देशक भट्टराई निकै उत्साहित छन् । उनले, यो फिल्म आफ्ना लागि पनि विशेष हुने र नायक पल शाहको करिअरलाई भने नयाँ उचाई दिने दाबी गरे ।

फिल्ममा राज कटुवाल र चन्द्र पन्तको लगानी छ । फिल्मको सह–निर्माताको रुपमा राजु पराजुली, रमा प्रसाँई र नभ्नित झा छन् । फिल्मका कार्यकारी निर्मातामा प्रविन भट्टराई र करण सिंह छन् भने सहयोगी निर्माताको रुपमा अम्बरीश कश्यप छन् ।

यो फिल्ममा पल शाह, दीपिका प्रसाई, सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाँइ लगायतका कलाकारको मुख्य भूमिका छ । क्रियटिभ सिने आर्टस्को व्यानरमा निर्माण भएको यो फिल्ममा राजु थापाको डीओपी, एसडी योगीको संगीत, राम अविरलको गीत छ । फिल्मको लाइन प्रोड्यूसरमा राजकुमार कार्की छन् । फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन । छायांकनको दोश्रो सेड्यूल दशैं लगतै सुरु हुने निर्माणपक्षले बताएको छ । यो फिल्मले पोखरा केन्द्रित कथा भन्छ ।

Leave a Reply