‘राधा’को तीज गीत ‘पाउमा पाउजु’मा प्रियंका र सृष्टिको छमछमी

सुवर्ण थापा निर्देशित चलचित्र ‘द सिक्रेट अफ राधा’को पहिलो गीत सार्वजनिक गरिएको छ । हरितालिका तीजलाई लक्षित गर्दै सोमवार तीज गीत ‘पाउमा पाउजु’ सार्वजनिक गरिएको हो । गीतमा सज्जा चौलागाईं र स्वस्तिमा ढकालको स्वर रहेको छ भने कालीप्रसाद बाँस्कोटाको संगीत र सृजना खत्रीको शब्द रचना छ ।

पशुपति मन्दिर परिसरको वृद्धाश्रममा छायांकन भएको गीतमा अभिनेत्रीयद्वय सृष्टि श्रेष्ठ र प्रियंका कार्की छमछमी नाच्दै देखिएका छन् । गीतको भिडियोमा कविराज गहतराजले कोरियोग्राफी, सञ्जय लामाको छायांकन र विपिन मल्लको सम्पादन रहेको छ।

चलचित्रमा सृष्टिको मुख्य भूमिका छ भने प्रियंका गीतको लागि मात्र फिचर्ड भएकी हुन् । तीजको गेटअपमा यी दुई अभिनेत्री निकै आकर्षक देखिएका छन् । ‘द सिक्रेट अफ राधा’लाई अभिनेता सौगात मल्लसँग मिलेर निर्देशक थापाले निर्माण गरेका हुन् । आगामी भदौ १० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रले एकल आमाको कथा भन्छ ।

चलचित्रमा सृष्टि श्रेष्ठ, सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, राजन खतिवडा, लोकेन्द्र लेखक, दयाहाङ राई, निश्चल बस्नेत, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ । ‘राधा’ आमाको सम्झनामा निर्माण गरेको निर्देशक थापाले बताएका छन् । चलचित्रमा रंगकर्मी सुनिल पोखरेल पनि अतिथि भुमिकामा देखिने छन् ।

आदियोगी भिजन, महारानी इन्टरटेन्मेन्ट युके, मन्डला अनलाइन र एएमआइ फिल्मस्को प्रस्तुती र मन प्रोडक्सनको एसोसिएनमा निर्माण र बिरजना इन्टरटेनमेन्ट तथा बिक्रमदास जोशी सह-निर्माता रहेको चलचित्रमा सुवर्ण थापाको कथा, नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।

Leave a Reply