वर्षा र प्रकाशको ‘परदेशी २’ मा केकीको प्रवेश

वि.स २०७२ सालमा रिलिज भएको चलचित्र परदेशीले दर्शकको मन जित्न सफल भएपछि ‘परदेशी २’ अर्को वर्षको दशैंमा प्रदर्शन हुँदैछ । महाशिवरात्रीको अवसर पारेर शुक्रवारबाट छायांकन सुरु भएको चलचित्रको नेपाल र विदेशका विभिन्न ठाउँमा करिब दुई महिनासम्म छायांकन हुने निर्देशक नारायण रायमाझीले बताएका छन् । विदेश पढ्न गएका विद्यार्थीको दुःख र त्यहाँको संघर्षमा चलचित्र आधारित हुनेछ ।

यो चलचित्रबाट गायक प्रकाश सपुतले अभिनेताको रुपमा डेब्यू गर्दैछन् । ‘परदेशी २’ बाट आफ्नो बाल्यकालदेखिको सपना पूरा भएकोमा उनी खुसी छन् । चलचित्रमा उनको जोडी अभिनेत्री वर्षा सिवाकोटीसँग बाँधिएको छ । ‘परदेशी’ को अघिल्लो श्रृंखलामा गायक तथा अभिनेता प्रशान्त तामाङ प्रमुख भूमिकामा थिए । यसको सिक्वेलमा उनी पनि दोहोरिएका छन् ।

छायांकन सुरु भएसँगै ‘परदेशी २’ मा अभिनेत्री केकी अधिकारीको पनि प्रवेश भएको छ । कथाको मागअनुसार चलचित्रमा उनलाई अनुबन्ध गरेको निर्देशक रायमाझीले जानकारी दिए । उनले भने, ‘चलचित्रमा उहाँ (केकी अधिकारी) को भूमिका पावरफूल छ । उहाँ र वर्षाको रोल चलचित्रमा बराबर जस्तै छ ।’ केकीले ‘परदेशी’ को सिरिजमा आबद्ध हुन पाएकोमा खुसी व्यक्त गरेकी छन् ।

रमेश वि.जीको कथा तथा पटकथा रहेको चलचित्रमा नीर शाह र गायक प्रकाश सपुतका भाई देवेन्द्र बब्लुको पनि अभिनय रहनेछ । नारायण रायमाझी र राजेश वंशल निर्माता रहेको चलचित्रको कथा निर्देशक रायमाझी आफैंले तयार पारेका हुन् । चलचित्रमा गोविन्द राई, रामजी लामिछाने र कुलमान नेपालीको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व र मान कृष्ण महर्जनको छायांकन रहनेछ ।

Leave a Reply