प्रियंका-आयुष्मानको बिहे फागुन १५ मा पक्का

गएको वर्ष नै दुई पटक इन्गेजमेन्ट गरिसकेका अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको विवाहको मिति पक्का भएको छ । गएको महिना उनीहरु फागुन १७ गते बैबाहिक जीवनमा बाँधिन लागेको खबर बाहिरिएको थियो । तर, ज्योतिषले विवाहका लागि फागुन १५ गते शुभ हुने बताएपछि अब उनीहरुले यही मितिमा लगनगाँठो कस्ने भएका छन् । प्रियंकाले इन्स्टाग्राममा एक तस्बिर सार्वजनिक गर्दै मिति सार्वजनिक गरेका हुन् । तस्विरमा एक बालकले हातमा खरीपाटी बोकेका छन् र त्यसमा लेखिएको छ, ‘सेभ द डेट २०२० फेब्रअरी २७ (नेपाली मिति २०७६ साल फागुन १५ गते) ।’

विगत २ वर्षयता प्रेम सम्बन्धमा रहेका आयुष्मान र प्रियंका यसै वर्षको असारमा विवाह गर्ने तयारीमा थिए । असारमा विवाह नभएपछि प्रियंकाले यस वर्ष बिहे नहुने बताउँदै आएकी थिइन् । तर, केही दिन अगाडि आफ्ना घनिष्ट साथीहरुसँग ब्याचलर पार्टी मनाउन थाइल्याण्ड प्रस्थान गरेपछि भने प्रियंकाले यसै वर्ष विवाह गर्न लागेको चर्चा चलेको थियो ।

आयुष्मान र प्रियंकाले आफ्नो र परिवारको ग्रह कमजोर भएको कारण उचित लगन जुराएर मात्र विवाह गर्ने योजना बनाएका थिए तर अब भने सबै कुराको पार लगाउँदै चर्चित ‘आयांका’ जोडी लगन गाँठो कस्दै छन् ।

Leave a Reply