सारुक ताम्राकारको मृत्युबारे निष्पक्ष छानबिन गर्न माग

अभिनेता तथा मोडल सारुक ताम्राकारको मृत्युको घटनाबारे छानबिन गर्न कलाकारले माग गरेका छन् । उनको मृत्युलाई लिएर छानबिन गर्नुपर्ने माग दिनप्रतिदिन सामाजिक सञ्जाल उठिरहेको छ छ भने कलाकारहरुले सारुकको न्यायको माग गरिरहेका छन् ।

अभिनेत्री मलिना जोशीले बिहीबार इन्स्टा स्टोरीमामा एक नोट लेख्दै सारुकको मृत्युबारे उचित छानबिनको माग गरेकी छन् । उनले लेखेकी छन्, ‘उसलाई के हुन सक्थ्यो र ? के कारणले ऊ यो निर्णय लिन बाध्य भयो ? उसको अन्तिम दिनमा ऊसँग को-को थिए ? के भएको थियो अन्तिम कुराकानीमा ? उसको अन्तिम कल कोसँग थियो ?’

सारुकले आफ्ना नजिकका महिला साथीहरूसँगको सम्बन्ध किन तोड्यो ? के ऊमाथि नराम्रो व्यवहार भएको थियो ? के ऊमाथि दुर्व्यवहार भएको थियो ? के उसलाई अपमानित गरिएको थियो ? भन्दै उनले प्रश्न गरेकी छन् । उनले उचित छानबिनको माग गर्दै भएको के हो त्यो सबैले जान्न पाउनुपर्ने उल्लेख गरेकी छन् । उनको पोस्ट अभिनेत्री स्वस्तिमा खड्काले पनि सेअर गरेकी छन् । मंगलबार अभिनेत्री सृष्टि श्रेष्ठले इन्स्टाग्राममा सारुकको एउटा तस्विर पोस्ट गर्दै ‘सत्य र न्यायको जित हुन्छ’ भनेर लेखेकी थिइन् । निर्देशक सुरेशदर्पण पोखरेलले ‘जस्टिस फर सारुक’ अभियान चलाएका छन् ।

गत बिहीबार सारुक रातोपुलस्थित निवासमा मृत भेटिएका थिए । फिल्म ‘रानी’बाट अभिनय करिअर सुरुवात गरेका सारुकले फिल्म ‘मेरी मामु’ र ‘इन्टु मिन्टु लण्डनमा’ पनि काम गरेका छन् । उनी बिहीबार दिउँसो फिल्म ‘ह्यासट्याग माया’को छायांकन गरेर घर फर्किएका थिए । फोटोग्राफीका सौखिन उनले सर्ट फिल्म ‘आशा’, ‘हाइड’ र ‘द रिक्सा कारपूल राइड’को निर्देशनका साथै फिल्म ‘त्यान्द्रो’मा ‘असिस्टेन्ट डाइरेक्टर’को रुपमा समेत काम गरेका थिए ।

Leave a Reply