चलचित्र पत्रकार संघले सात जना पत्रकारहरुलाई सम्मान र पुरस्कार प्रदान गर्ने

चलचित्र पत्रकार संघ नेपालले सात जना चलचित्र पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । आगामी जेष्ठ ७ गते चलचित्र पत्रकार संघ नेपालको २४औं बार्षिक उत्सब हो । सोही दिन सात जना चलचित्र पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने संघको आइतवार काठमाडौंमा सम्पन्न बैठकले निर्णय गरेको महासचिव रघुनाथ सापकोटाले जारी गरेको विज्ञप्तीमा उललेख छ ।

संघको शाखाहरुबाट सिफरिस भएका व्यक्तिहरुमध्ये चितवन शाखाका निवर्तमान अध्यक्ष रवी अधिकारीलाई राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०८० प्रदान गर्ने निर्णय संघले गरेको छ । यो पुरस्कारका लागि नगद पच्चिस हजार राशि रहेको छ । यस्तै चलचित्र पत्रकारितामा सक्रिय रहँदै आएकी श्रृष्टि पोखरेललाई राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८० प्रदान निर्णय गरेको छ । यो पुरस्कारका लागि एउटा ल्यापटप व्यवस्था गरेको छ । यस्तै राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८० का लागि कुबेर डंगोल र दीपज्योती थापालाई प्रदान गर्ने निर्णय संघले गरेको छ । पुरस्कार राशिमा एकाउन्न हजार नगद रहेको छ । डंगोल र थापा विगत देढ दशकदेखि पत्रकारिता निरन्तर सक्रिय रहँदै आएका छन् ।

राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८० का लागि विगत दुई दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय रहँदै आएका बरिष्ठ पत्रकार तुलसी गिरी भावुक र चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाका संस्थापक अध्यक्ष श्रीराम सिग्देललाई प्रदान गरिने भएको छ । यता २५ बर्षको निरन्तर चलचित्र पत्रकारिता यात्रा र २३ बर्षदेखि संघमा निरन्तर सक्रिय रहँदै आएका बरिष्ठ चलचित्र पत्रकार, संघका संस्थापक महासचिव तथा पूर्व अध्यक्ष शान्तिप्रियलाई नगद राशि पचपन्न हजार पाँच सय पच्पन्नसहित राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८० प्रदान गरिने भएको छ । यस्तै संघले पुर्व सदस्यहरुलाई मानार्थ सदस्य र चलचित्र पत्रकारिता गरिरहेका कृयाशिल चलचित्र पत्रकारहरुलाई साधारण सदस्यता वितरण गर्ने निर्णय पनि गरेको छ । आगामी जेष्ठ ७ गते भव्य समारोहको बीच सम्मान तथा पुरस्कार प्रदान गरिनेछ । समारोह सम्पूर्ण चलचित्र पत्रकार, विशिष्ट व्यत्तित्व र चलचित्रकर्मीहरुको उपस्थिती रहनेछ ।

Leave a Reply