५१ लाखमा ‘प्रेमगीत ३’ को नर्थ अमेरिका राइट्स विक्री

यस वर्षको बहुप्रतिक्षीत चलचित्रमध्य एक ‘प्रेमगीत ३’ को चर्को मूल्यमा विदेश राइट्स विक्री भएको छ । ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठले चलचित्रको नर्थ अमेरिकाका क्यानडा, मेक्सिको र अमेरिकाका लागि ४५ हजार अमेरिकी डलर अर्थात् नेपाली ५१ लाखभन्दा बढी मूल्यमा खरिद गरेका छन् । नर्थ अमेरिकाका लागि यति ठूलो मूल्यमा अहिलेसम्म कुनै चलचित्र विक्री भएका छैनन् ।

निर्माणभन्दा अगावैदेखि स्टारकास्टका कारण चर्चामा रहेको चलचित्रको केही दिन अगाडि सार्वजनिक भएको पहिलो ‘हात्ती ढुंगामा’ गीतपछि विदेशी भूमिमा चलचित्रको माग झनै चुलिएको निर्माताबाट निर्देशक बनेका सन्तोष सेनले बताए । यो गीतले चलचित्रको हाइप निर्माण्मा पनि ठूलो भूमिका खेलेको छ ।

चलचित्रमा प्रदीप खड्का तेस्रो पटक ‘प्रेम’को रुपमा देखिँदैछन् भने नव-अभिनेत्री क्रिस्टिना गुरुङ ‘गीत’ र सन्तोष आफैँ ‘अंगत’को भूमिकामा पर्दामा देखिनेछन् । प्रदीप र क्रिस्टिनाका साथमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको पनि अभिनय हेर्न सकिनेछ ।

डेढ सय वर्ष अगाडिको कथा समेटिएको चलचित्रमा आफु नकारात्मक भूमिकामा देखिन लागेको निर्माता सेनको भनाइ छ । सन्तोष सेनको लगानीमा बन्न लागेको चलचित्रमा चत्र बहादुर चन्द र डम्बर बिक्रम सेन कार्यकारी निर्माताको रुपमा रहेका छन् । चलचित्रलाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेका हुन् ।कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको चलचित्रमा प्रताप दास, मेलिना राई, सागर आले र प्रविशा अधिकारीले स्वर भरेका छन् । तीन करोड लागतमा बनेको चलचित्रमा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।

Leave a Reply