‘पशुपति प्रसाद २ : भष्मे डन’को शुभमुहूर्त

लोकप्रिय चलचित्र ‘पशुपति प्रसाद’को फ्रेञ्चाइज सिक्वेल ‘भष्मे डन’को शुभमुहूर्त गरिएको छ । निर्देशक दीपेन्द्र के खनालले निर्देशन रहने चलचित्रको शुक्रबार पशुपतिनाथ मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजाआजा गर्दै मुहूर्त गरिएको हो ।

अब चलचित्रमा ‘पशुपति प्रसाद’मा अभिनेत्री वर्षा सिवाकोटीको पनि प्रवेश भएको छ । तर, निर्देशक खनालले चलचित्रमा वर्षा ‘सरप्राइज’ रहेको बताए । मुहूर्तमा निर्देशक खनाल, लेखक तथा निर्माता खगेन्द्र लामिछाने, कलाकारहरु विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, वर्षा सिवाकोटी, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर उपस्थित थिए । आज भन्दा ७ वर्ष अगाडी रिलिज भएको ‘पशुपति प्रसाद’ व्यावसायिक र समिक्षात्मक रुपमा अब्बल सावित भएको थियो ।

चलचित्रको शिर्ष भूमिकामा अभिनेता विपिन कार्की रहनेछन् । उनि ‘पशुपति प्रसाद’को लोकप्रिय पात्र ‘भष्मे डन’ हुन् । पछिल्लो दशकमा दर्शक माझ सर्वाधिक प्रभाव छोड्न सफल चरित्र हो ‘भष्मे डन’ । अहिलेपनि सामाजिक संजालमा ‘भष्मे डन’का संवाद र दृश्य लोकप्रिय छन् । आगामी चैतदेखि छायांकन सुरु हुने चलचित्र २०८० सालको दशैँ अवसर पारेर फूलपातीमा रिलिज हुनेछ ।

कृष्ण भारद्वाज र सुवास भुषालको संगीत रहने सिनेमामा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन, रोहितराज गौतमको मुख्य सहायक निर्देशन, संजोग रसाइलीको सहायक निर्देशन र दिर्घ खड्काको सम्पादन रहनेछ । निर्माण कम्पनि टुकी आर्टस प्रालिले ‘पशुपति प्रसाद’सहित ‘धनपति’ र ‘पानीफोटो’ जस्ता मौलिक सिनेमा निर्माण गरिसकेको छ ।

लेखक लामिछानेले नाम मात्रको सिक्वेल मात्र नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बन्ने बताउँछन् । ७ वर्षको अवधिमा भष्मे डनको जीवनमा आएका विभिन्न उतारचढावलाई चलचित्रमा प्रस्तुत गरिने बताइएको छ । चलचित्रको छायांकन सेड्युल ३० दिनको राखिएको छ ।

Leave a Reply