‘ज्याकी : आई एम ट्वान्टी वान’का टार्गेट अडियन्स आँखिर को होलान् त?

धरानमा जन्मिएका ज्याकी लिम्बु (धिरज मगर) चेपुवामा छन्, हिपहप डान्सर बन्ने कि लाहुरे? काठमाण्डौंकी रुवी लामा (जसिता गुरुङ) पनि उस्तै समस्यामा छिन्, हिपहप डान्स रोज्ने कि परिवार? यिनै दुई परिवारको परिवेश र द्वन्दमा फिल्मको कथा अगाडी बढेको छ। फिल्मको मुख्य प्रस्तुती डान्सले फिल्मलाई रोचक बनाउने नै भयो।

नेपालमा मेहनत धेरै गर्नुपर्ने फिल्म कमै छन्। बिकासोउन्मुख देश भएपनि नेपाली फिल्महरु महंगा क्यामराले खिचिन्छन्। सकि नसकी नै सहि, भिएफएक्सको प्रयोगदेखि महंगा प्रविधि फिल्ममा प्रयोग गरिएको हुन्छ। तर नेपालका फिल्म हलमा समस्या छन्। प्रायः फिल्महरुको फ्रेम समेत काटिएर आउने पर्दामा सबैथोक खुलस्त देखाउन नसक्नु निर्देशकको मात्रै गल्ती पनि हैन होला जस्तो लाग्छ। ज्याकीः आइ एम ट्वान्टी वान फिल्म पनि यहि समस्याको सिकार भएको छ। पर्दामा क्यामराको काम देखिँदैन, पात्रहरुको टाउको समेत काटिएर आएको छ।

यी र यस्ता अनेकन् प्राविधिक समस्याका बाबजुद आफुले लामो समयदेखि गरिरहेको काम नृत्य कोरियोग्राफीलाई फिल्ममा देखाउने आँट गर्नु चानचुने कुरा हैन। यसका लागि निर्देशक रेनशा राइ राणालाई धन्यवाद दिनैपर्छ। उनको यो कदम र उठाएको जोखिमलाई प्रसंशा गर्नैपर्छ।

फिल्ममा कलाकारहरुको मिहेनत अर्को सकारात्मक पाटो हो। धिरज मगर र जसिता गुरुङले आफुलाई हिरो हिरोइन हैन, कलाकार बनाएका छन्। धिरजको अभिनयको कुरा गर्दा, बाबरी फिल्ममा अर्का कलाकार दयाहाङ राइको झल्को दिने कोशिस गरेका थिए। तर ज्याकीः आइ एम ट्वान्टी वान्मा उनले आफ्नै मौलिक अभिनय पस्केका छन्। परिवार र खुशीको बीचमा अल्झिएका हरेक पात्रले धिरजको अभिनयमा आफ्नोपन पाउन सक्छन्। त्यस्तै जसिताले गरेको नेवार र लामा परिवारको मिक्सअप प्रसंसायोग्य छ।

फिल्ममा जतिपनि अन्य कलाकारहरु अटाएका छन्, प्रायःको अभिनय मौलिक छ। फिल्ममा ज्याकीको बुबाको भुमिका निर्वाह गरेका कलाकार प्रेम सुब्बाको अभिनय भने अलि अल्झिएको भान हुन्छ। तर उनि अब्बल कलाकार हुन् भन्ने फिल्म जारीमा प्रमाणित गरिसकेका छन्।

टिकटकमा डान्स गरेर र यसैमा करियर बनाएर चर्चा कमाएका धेरै कलाकारहरु यो फिल्ममा अटाएका छन्। यसरी हेर्दा कलाकार खोज्न यो फिल्मले गरेको मेहनत अर्को राम्रो पक्ष हो।
फिल्ममा संवादमा निकै मिहेनत गरिएको छ। ज्याकीले बोल्ने धराने टोन, रुवीले बोल्ने नेवारी टोन न्यायिक लाग्छ। सुरुमा कथा नबुझ्दै गुरुङकी छोरीलाई नेवारी टोन नसुहाएजस्तो लाग्छ। तर चलाखीपुणर् तरिकाले रुवीको नेवारी टोनलाई दर्शकले स्वीकार गर्छन्। चलाखी बाटो अपनाएर पात्रलाई कन्भिन्सिङ गराउनु यो फिल्मको अर्को सकारात्मक पाटो हो।

फिल्म रिलिज हुनुअघि रेनशालाई महिला भएर पुरुषको कथा भन्ने निर्देशक भन्नेखालका प्रश्न धेरै आएका थिए। उनले ब्यवसायीक उत्तर दिँदै आएकी थिइन्। तर फिल्ममा उनले महिलाहरुको मुद्धालाई समेत उठान गरेकी छन्। यदि कुनै पुरुषले यो फिल्म बनाउँथ्यो भने महिला अधिकारका मुद्धा किन उठ्थे होलान् र ! अचार जसरी आफुले सकेको चेतना बाँडेकोमा यो फिल्मको सम्पुणर् निर्माण पक्षलाई धन्यवाद दिनैपर्छ।

फिल्ममा संगितको प्रयोग राम्रो छ। तर ब्याकग्राउण्ड म्युजिक अलिक लाउड सुनिन्छ। जसले गर्दा फिल्ममा सँगै बग्न ब्याकग्राउन्ड म्युजिकले डिस्टर्व गर्छ।
फिल्मको एडिटिङमा केहि मेहनत गरिदिएको भए अझै राम्रो हुन्थ्यो। किनभने पहिलो हाफमा लगातार डान्स मात्रै छ र दोस्रो हाफमा परिवार अनि लाहुरे बन्न गरेको संघर्ष छ। कथा र नृत्य दुबैलाई सँगै लैजान सकेको भए, फिल्ममा दर्शकलाई कनेक्ट गर्न सकिन्थ्यो।

कथा भन्दा दर्शकलाई सधैं मध्यनजर राख्नुपर्छ। त्यसैले त केहि काम सुरु गर्नुअघि टार्गेट अडियन्समाथी रिसर्च गर्नुपर्ने हो। नेपालमा हिपहप बुझ्ने दर्शक कति छन् होला? हिपहपका कुन स्टाइलले के भन्न खोजेको भनेर बुझ्ने दर्शकबारे फिल्मले अनुशन्धान गरेन कि भन्ने भान हुन्छ। किनभने धेरै दर्शकले फिल्ममा देखाइएको डान्सको स्टाइल र त्यो डान्सले भन्न खोजेको कुरा बुझ्न सक्दैनन्। जसले गर्दा दर्शक फिल्मको संसारमा प्रवेश गर्नै सक्दैनन्। यदि हिपहप डान्स मन पराउने दर्शकहरु नै टार्गेट अडियन्स थिए भने, फिल्मले उनिहरुको मन जित्ने गरेर कथा भन्न सक्नुपथ्र्यो। किनभने हिपहप डान्सकै कथामा बनेका स्टिप अपका सिजनहरुले दर्शकको मन चोरिसकेको छ। उनिहरु यो भन्दा माथिल्लो लेवलको फिल्म अपेक्षा गर्छन्। फिल्ममा त्यस्तो हुन सकेको छैन।

उच्च गुणस्तरका प्रविधि भित्रिएपनि दक्ष प्राविधिक कम छन् नेपालमा। त्यो कुरा हरेक फिल्महरुमा झल्किरहेका छन्। फिल्मले धेरै मानिसहरुको कथा एकसाथ भन्न खोजेको छ। तर प्राविधिक पाटोमा चुकेको छ। पात्रको मनोदशा अनुसारको लाइटमा खेल्न सकेको छैन। हलका पर्दाले समेत खिचेको कुरा देखाउन सकिरहेको छैन।

यस्तो अवस्थामा डान्सिङ ड्रामा जस्तो अफ्ट्यारो बिद्यामा फिल्म बनेको छ। नेपालका लागि अत्यन्तै अर्गानिक यो बिधामा कस्तो काम भएछ भनेर हेर्नकै लागि पनि यो फिल्म तपाइको रोजाइमा पर्नसक्छ। यदि नृत्य प्रेमी हुनुहुन्छ र यसैमा करियर बनाउन चाहनुहुन्छ भने एकपटक अवस्य हेर्नुपर्ने फिल्म हो यो।

Leave a Reply