गीत चोरीको आरोपमा विराजलाई पैसाका लागि ‘ब्ल्याकमेलिङ’ (तस्बिर र भिडियो सहित)

यही माघ २४ गते शुक्रवारबाट अभिनेता विराज भट्ट निर्देशित तथा अभिनीत चलचित्र ‘साङ्लो’ प्रदर्शनमा आउँदैछ । पूर्व मिस नेपाल निकिता चाण्डकको पनि चलचित्रमा प्रमुख भूमिका रहेको छ । रिलिजपूर्व गीतसंगीत र ट्रेलरले चलचित्रको राम्रो हाइप निर्माण गरिसकेको छ । तर, चलचित्र रिलिजको संघारमा रहँदा चलचित्रमा समावेश ‘झ्याम्मै आँखा झ्याम्मै…’ बोलको डान्सिङ गीतको शब्द चोरिएको भन्दै प्रहरीमा उजुरी परेको छ ।

गएको शुक्रवार गीतको शब्द चोरिएको भन्दै ‘रुद्रप्रिया’ निर्देशक सुदीप भुपाल सिंहले महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी दिएका हुन् । यो गीतको शब्द आफूले लेखेको तर जानकारी विना चलचित्रमा राखिएको र रचनाकारको रुपमा क्रेडिट समेत नदिएपछि आफू प्रहरीमा उजुरी दिन बाध्य भएको उनको भनाई छ ।

चलचित्रलाई गीत चोरीको आरोप लागेपछि मंगलवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै अभिनेता विराजले चलचित्र प्रदर्शनको बेला गीतको विवाद झिकेर आफूलाई ‘ब्ल्याकमेलिङ’ गर्न खोजिएको आरोप लगाएका छन् । उनले सहमतिको प्रयास गर्दा निर्देशक सिंहले ठूलो रकम मागेर आफूलाई ‘ब्ल्याकमेलिङ’ गर्न खोजेको बताए । उनी आफ्नो कुनै गल्ती नभएको पनि बताउँछन् ।

उनले भने, ‘मैले सुरेश अधिकारीबाट गीत लिएको हुँ । उहाँले कहाँबाट गीत लिनुभएको हो मलाई थाहा छैन । मेरो चाहिँ के गल्ती छ र गीतको क्षतिपूर्ती दिनु ? मैले हिजो उहाँ (सुदीप भुपाल सिंह) सँग सहमतिको प्रयास गरेको थिएँ । तर, उहाँले १०/२० लाख पाए मात्र सहमति गर्न सकिन्छ भन्दै ‘ब्ल्याकमेलिङ’ गर्न खोज्नुभयो ।’

कानुनले चलचित्रबाट गीत हटाउन निर्देशन दिएको खण्डमा आफू चलचित्रमा गीत नराख्ने उनले बताए । ‘यदी कानुनले चलचित्रमा गीत नराख भन्छ भने म गीत हटाउन तयार छु । गीत खिच्दा भएको १०/१५ लाख खर्च म बेहोर्न तयार छु । तर, पैसाका लागि यसरी ‘ब्ल्याकमेलिङ’ गर्नु राम्रो होइन,’ अभिनेता विराजले अगाडि भने, ‘ चलचित्रमा मैले कुनै काम गैरकानुनी रुपमा गरेको छैन ।’

अभिनेता विराजसँगै पत्रकार सम्मेलनमा उपस्थित भएका संगीतकार अधिकारीले गीतमा गायक निशान भट्टराईको नाम रचनाकारमा पर्नुमा प्राविधिक त्रुटी रहेको बताउँदै निर्देशक सिंहसँग सहमति भैसकेको बताए । उनले आफ्नो कारणले यूट्युबमा गीतकारमा निशानको नाम नलेखिएको पनि स्पष्ट पारे । गीतको रचनाकार आफू र निर्देशक सिंह रहेको उनको भनाई छ ।

Leave a Reply