प्रियंका क्याम्पनाउमा, बार्सिलोनाको पेजमा तस्वीर–भिडियो

नायिका प्रियंका कार्की हुनेवाला श्रीमान आयूष्मान देशराज जोशीसंग फुटबल हेर्न स्पेनको बार्सिलोना पुगेकी छिन् । ला लिगा अन्तरगत बार्सिलोना र लेभान्टेबीचको खेल हेर्न उनीहरु त्यहाँ पुगेका हुन् । विश्वविख्यात फुटबल क्लव बार्सिलोनाले आफ्नो अफिसियल फेसबुक पेजमा प्रियंकालाई स्थान दिएको छ । ‘वि लभ नेपाल’ भन्दै उसले प्रियंकाको फोटो र भिडियो पोष्ट गरेको हो ।बार्सिलोनाले पोष्ट गरेको फोटोमा उनी क्याम्प नाउको रंगशालाभित्र मैदानछेउ एक युवतीका साथ देखिएकी छन् ।

प्रियंकाले आइतबार रातिको खेल सुरु हुनुअघि ‘ला लिगा’ को फेसबुक लाइभमार्फत छोटो प्रतिक्रिया दिएकी थिइन् । २० सेकेन्डको भिडियोमा उनले अंग्रेजी र नेपालीमा बोलेकी छन् । ‘धेरै नेपाली यहाँ आउन चाहन्छन्, तर पाउँदैनन् । मैले सबैको लागि यो सपना बाँचिरहेको छु,’ उनले भनेकी छिन् ‘यहाँ यति रमाइलो भइरहेको छ । यो क्षण म जिन्दगीभर बिर्सिन सक्दिनँ ।’

अर्को भिडियोमा प्रियंकालाई खेलमा कति गोल हुन्छ भन्ने अनुमान गर्न लगाइएको छ । उनले फस्र्ट हाफमा दुई र सेकेन्ड हाफमा दुई गोल हुने भविष्यवाणी गरिन् । मध्यान्तरअघिको भविष्यवाणी मिल्यो तर मध्यान्तरपछिको मिलेन । बार्सिलोनाले २–१ को जीत हात पार्‍यो, जसमा दुवै गोल मध्यान्तरपूर्व गरिएका थिए ।

प्रियंकाले बार्सिलोनामा आफ्नो मनपर्ने खेलाडी मेस्सी भएको बताएकी छन् । प्रियंका र आयूष्मान कतार एयरवेजको बिमानबाट शनिबार बार्सिलोनातर्फ लागेका थिए ।

Leave a Reply