चलचित्र विकास बोर्डको दुबई फिल्म फेस्टिभलमा ‘महापुरुष’ सहभागी नहुने

चलचित्र विकास बोर्डले फेब्रअरी १२ देखि १५ सम्म दुबईमा युएईको दुबईमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा चलचित्र ‘महापुरुष’ सहभागी नहुने भएको छ । आइतबार बोर्डले सार्वजनिक गरेको एउटा पोस्टरमा फेस्टिभलको अन्तिम दिन फिल्म ‘महापुरुष’ देखाइने उल्लेख गरिएको थियो । तर, अनुमति विना चलचित्रलाई समावेश गरिएको प्रति आपत्ति जनाउँदै निर्माण कम्पनी षट्कोण आर्ट्सले ‘महापुरुष’ले फेस्टिभलमा भाग नलिने घोषणा गरेको छ ।

षट्कोणले दुबई फेस्टिभलमा फिल्म सहभागी नहुनेबारे जानकारी दिँदै फेसबुकमा लेखेको छ, ‘चलचित्र विकास बोर्डले ३० लाख खर्च गरेर विवादास्पद कम्पनी सूर्य कर्पोरेसनसँग मिलेर नेपाली फिल्म र पर्यटनलाई विश्वसामु पुर्‍याउने नाराका साथ दुबईमा गर्न लागेको ‘नेपाल्स सिनेमा फेष्ट’मा फिल्म ‘महापुरुष’ अनुमति नलिकन कार्यक्रममा समावेश गरेकोमा हाम्रो ध्यानाकर्षण भएको छ ।’

३० लाखको खर्चमा विवादास्पद कम्पनीसँग मिलेर बोर्डले दुबईमा गर्न लागेको फेस्टिभलमाथि पनि षट्कोण आर्ट्सले प्रश्न उठाएको छ । ‘हाम्रो नेपाली चलचित्रलाई विश्व बजारमा पुर्याउने विकास बोर्डको चाहना स्वागत छ तर यी र यस्ता नेपालीमाझ हुने घुमघाम र नाचगान कार्यक्रमले नेपाली फिल्मलाई कसरी सहयोग विश्व बजारमा लैजान्छ होला ?’, षट्कोण आर्ट्सले बोर्डलाई प्रश्न गरेको छ ।

Leave a Reply