विपिन कार्कीले छाडे बलिउड चलचित्र ‘एनिमल’

अभिनेता विपिन कार्कीले बलिउड चलचित्र ‘एनिमल’ छाडेका छन् । सेड्युल जुधेको कारण चलचित्रमा काम गर्न असमर्थ भएर बिपिन ‘एनिमल’को हिस्सा नहुने भएका छन् । अहिले कास्कीमा छायांकन भइरहेको ‘प्रसाद २’को कारण मुम्बई जान नसक्ने जानकारी निर्देशक सन्दीप रेड्डी भांगालाई गराएको विपिनले बताए ।

‘मैले नेपालमा धमाधम सुटिङ भइरहेको जानकारी गराएँ । सहमतिमै फिल्म नगर्ने निधो गरेका हौं । बरु उहाँको अर्को फिल्ममा भविष्यमा काम गर्न सकिने कुरा भएको छ,’ विपिनले भने, ‘काम गर्न सके प्रभाव पार्न सकिन्छ भन्ने लाग्यो । यसपटकलाई यस्तै भयो । अर्कोचोटि सहकार्य गर्न सकिन्छ भन्ने कुरा भएको छ ।’

गत महिना पनि एनिमलको सुटिङका लागि मुम्बई पुगेका विपिन सुटिङ नगरिकनै नेपाल फर्किएका थिए । त्यसअघि यही फिल्मको लागि भनेर आफूले चार–पाँच पटक काठमाडौं–मुम्बई आउजाउ गर्नुपरेको हैरानीले उनले सुनाएका थिए ।

एनिमललाई सन् २०१९ मा रिलिज भएको कबीर सिंह फेम्ड निर्देशक सन्दीप रेड्डी भांगाले निर्देशन गरिरहेका छन् । चलचित्रमा रणवीर कपुर, अनिल कपुर, रश्मिका मन्दाना र बबी देओल छन् । विपिनले देओलका भाइको भूमिकामा अभिनय गर्ने बताइएको थियो ।

Leave a Reply