‘महापुरुष’ले मनायो ५१ दिन, बन्यो नेपालको पहिलो कार्वन तटस्थ फिल्म

गत कार्तिक ११ गतेबाट प्रदर्शन भएको चलचित्र ‘महापुरूष’ले आज शनिबार प्रदर्शनको ५१ दिन मनाएको छ । चलचित्रले मल्टीप्लेक्सहरु क्यूएफएक्स चेन, एफक्यूब, वान सिनेमाज्, बिग मुभिज, आइएनआई सिनेमाज्, पोखरा सिनेप्लेक्ससहित काठमाडौं र मोफसलका केही सिंगल थिएटरमा प्रदर्शनको ५१ दिन मनाएको हो । यो अवधिमा चलचित्रले करिब ११ करोड कलेक्सन गरेको छ ।

प्रदर्शनको ५१औं दिन मनाउन र खुसी साट्न आज शनिबार काठमाडौंमा कार्यक्रम आयोजना गरेर केक काटिएको थियो । यस वर्ष फिल्म ‘कबड्डी ४’ले सफलताको ५१ दिन मनायो । सफलताको यो मानक पार गर्ने यस वर्षको दोस्रो फिल्म ‘महापुरुष’ बनेको छ ।

चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । ५१औं दिन मनाउने उनको यो चौंथो चलचित्र हो । यसअघि उनी निर्देशित ‘जात्रा’, ‘शत्रु गते’ र ‘जात्रै जात्रा’ले पनि प्रदर्शनको ५१औं दिन मनाएका थिए । बलियो ‘वर्ड अफ माउथ’का कारण ‘महापुरुष’ले बक्स अफिसमा लामो यात्रा गर्न सफल भएको हो । एकल पिताले आफ्नो सन्तानका लागि गर्ने त्याग र समर्पणमा फिल्म आधारित छ ।

सफल भएको यस वर्षको सुपरहिट फिल्म ‘महापुरुष’ नेपालको पहिलो कार्बन न्यूट्रल फिल्म बन्ने भएको छ ।
कार्यक्रममा छायांकनदेखि रिलिजसम्म उत्सर्जन भएको कार्बनलाई न्यूनीकरण गर्न निर्माण टिमले सोलार प्लान्ट स्थापना वा वृक्षारोपणमध्ये एउटा काम गर्ने घोषणा गर्‍यो ।

फिल्मको प्रि-प्रोडक्सन, छायांकन, पोस्ट-प्रोडक्सन र रिलिजसम्म ६.४ टन कार्बन उत्सर्जन भएको र त्यसको न्यूनीकरण गर्न २६६ वटा रुख रोप्न वा कुनै ठाउँमा ११ किलोवाटको सोलार प्यानल जडान गर्न विज्ञले निर्मातालाई सुझाव दिएका छन् । निर्माण टिमले कार्बन उत्सर्जन कम गर्न विद्युतीय सवारी साधनको प्रयोग गरेको थियो । जसले गर्दा कार्बन उत्सर्जन ३ टन घटेको विज्ञले बताए ।

Leave a Reply