भोटेकोशीको भाले डुङ्गा

– युवराज नयाँघरे
पानीमय भयो त्यो दिन !
बगेको पानीलाई छुन खोजेथ्यौं – अकासबाट नि पानीकै सत्कार भयो । अनि पो भएको पानीमय दिन ।
भोटेकोशीलाई आँखाले भेटेका थिए । मनले भेटिसकेको थिएन राम्रोसँग । तनले छुने त मौकै परेको थिएन मेरो । घाम चर्किनु र तन्नेरी जोस्सिनु एकै पटक भए पछि छप्लाङछुप्लुङको साथी हुन पुगेँ म ।
उखर्माउलो गर्मी ओर्लिरहेकै थियो । देश दर्शनका जोसिला युवाको लर्को लाग्यो भोटेकोशीमा । एउटा निम्तालु मै पनि । हुलमा हेलिएर सुकुटे उत्रिएँ । सिन्धुपाल्चोकको जलसंसारलाई पढ्ने गतिलै ‘चानस’ मिल्यो मलाई ।
बगरमा उभ्याएर लाइफ ज्याकेट लाएर उभिएको छु । अरु धेरै छन् – पानी छेउमा तुल्बुलिएको हुल । हतारिएका अनुहारमा पानीमै झ्वाम्म पस्ने रहरले वेग मारेको देख्छु म ।
दश वटा डुङ्गा भोटेकोशी किनारमा तैरिएका छन् । रङ्गी बिरङ्गी ती नाउँमा हेलिनु छ अब हामीले ।
खोलामा मनै अत्याउने चिसो छ । भोटबाटै बगेर आएको यो कोशी । त्यसकै चिसोले नदीमा उत्ताउला छालहरु उर्लिरहेकै छन् । कति सेता, कति सङ्ला, कति सुकिला ।
‘पानीलाई जित्न नखोज्नु होला ।’
खोलामा हेलिनु अघि यी सबै दशैवटा डुङ्गालाई चलाउने ‘हँकुवा’ को कडा बोली आउँछ । तिनले यसरी बोले– छेउमै कलकलाइरहेको भोटेकोशीको गर्जना नि सुस्त सुनियो यो बेला ।
धेरैजसो त आफै नि छप्लाङछुप्लुङ गरिरहेका थिए । पहाडी र वेगवान हिमाली खोलो । किनारमै पानी छ्यापिरहेकाहरु चिप्ला ढुङ्गामा पुल्टुङबाजी खानै थाले ।
बगिरहेकालाई थामथुम पार्न उत्तम भट्टराई र राजीव खत्रीलाई महाभारतै हुन थालेको छ । रोजु, जमुना, शितल र रुपाहरु चैँ पानी, छाल, किनार अनि ढुङ्गाका चरित्रमा मन पोखिरहेथे पटक–पटक ।
‘डुबिहाले टाउको चैं छाल मास्तिरै पार्नु नि !’
लामो कपाल गरेका ती नायकले उर्दी गरे । उनका तर्कलाई उतै फर्काउन तीरमा उभिएको एउटा ठूलो जमात जम्जमाइरहेको थियो । पानीमा पसिहाल्न पाए हुन्थ्यो ! हरेकका आँखा, मन, ओठ र छातीको बोली थियो यै ।
निकै बेरको सम्झाइबुझाइपछि दशवटा डुङ्गा हेलिए भोटेकोशीको छालमा । पानीभित्र पसेका हाम्रा स्थलचर चरित्र किन–किन हुरुक्किएका थिए, उखर्मौलिएका थिए र तुल्बुलिएका थिए । पानीको नातोमा हामी आकुल भएर पो हो कि ?
खोलामा हेलिए लगत्तै छालैछालले अँगाले हामीलाई । पानीमा तौलको सन्तुलन अनन्यतम् हुन्छ । अनि हरेक डुङ्गामा बरोबरीको सङ्ख्या मिलाउन खोजेका थिए – हिमालयन एडभेन्चर गल्स्का साथीहरुले ।
पानीलाई छुने वा हेर्ने अप्रतीम आकाङ्क्षा सँधै छ मलाई । अझ राम्रो र कुशल गोताखोर म होइन । तैपनि पौडिने इच्छाको चुचुरोमा पुगिरहेकै हुन्छु म ।
मलाई पानीका भुँवरीले लडाउन नसकेका बडेमानका चट्टानले तानिरहन्छन् । ती कठोर चट्टानमा पानीले कला कोरेको लाग्छ । अनेक रेखा, आकार र भावका किरमिरे चरित्रले म सँधै छोइन्छु । पानीसँग अथाह र अज्ञात शक्ति हुने अकाट्य यही हुनु पर्छ ।
बगिरहेका डुङ्गा धेरैपटक छालका तल–माथिसँगै उफ्रिने र थेच्चारिने गर्छन् । शरीरमा काउबुडी लगाएजस्तो अथवा स्निग्ध स्पर्शजस्तो । छालमा लछारपछार भएका हाम्रा हरेक अवयवमा छोएको भान हुन्छ ।
छालपछि छालैछाल ।
एउटा नाघेर अलिक पर पुगिसकेर सुस्ताउन नपाई फेरि अर्को उत्तुङ्ग छाल । पटक–पटक हुन्छ– पानी र लहरको मायालुको प्रहार ।
नदी किनारको आफ्नो संसार छ । माछा मार्न बसेका मसिना केटाकेटीहरुको उत्सुकता । जाल हानिरहेका वृद्धहरुका निरपेक्ष मुस्कान । गोठालागोठाल्नीका ढुङ्गा चिप्लाइ वा गाउँले नारीका खल्याङमल्याङ नुहाइ । यी सबै तस्वीरमा भोटेकोशीको जीवन्त संसार जोडिएको छ, छ ।
साथीहरु डुङ्गालाई हुइँक्याउँछन् । तिनलाई पानीका हरेक थोपामा लुकेको ऊर्जाबारे ज्ञान उत्तिको नहुँदो हो । अनि यो पानीमा डुङ्गा खियाउने दाबिलो मास्तिर जुधाएर उल्लास पोख्छन् ।
तरुण, गुणराज वा सन्तोष जस्ता स्नेही भाइहरु छन् । पानीका लागि सिङ्गै दिन छुट्याएर यिनले भोटेकोशीको लहर अँगालो मारेका छन् । हाँसो, उल्लास र खित्काको दोहोरी चल्छ । किञ्चित् पछि नपरी हरेक नाउभन्दा हामी अगाडि छौं । निरन्तर–बेगिएर… बेगिएर ।
पानी र नारी – अर्थको भावमा म सँधै उही ठान्छु । तिनको सरलता, कोमलता वा तरलता–पानीको मूल्यसँग पृथक् हुँदै–हुँदैन । अनि गाम्भीर्यता वा अति सौर्य – पानीसँग नारीको पहिचान भेट्छु म ।
संयोग पनि अनौठै भयो – हामी झण्डै असी जनालाई ऋतु, कल्पना, अनु र कमलाले हाँकिरहेका छन् । अलिक अघि अनु शेर्पाले भनेकी थिइन्– ‘कति पटक त काखकी छोरी पाखामा राखी म डुङ्गा चलाउँथे । धेरै पटक आमा खोलामा, छोरी पाखामा भइएको छ ।
समयले काँचुली मात्रै फेरेको होइन रहेछ – समयका अरु धेरै पार्टपूर्जा नि फेरिएछन् । अनि पो नारीलाई अबोला र दुर्बल ठान्ने समाजका लागि यी उदाहरण हुन सकेका छन् ।
पानीका भूँवरीमा ठूला ठूला डुङ्गा अरिमट्ठिएर बसेका भेटिन्छन् । तिनका वरिपरि परेको गहिरा र फराकिला छालले हामीसँगै हेलिएको डुङ्गा कति पटक घोप्टिन्छन् । पानीमा सलल बगेर काँ मज्जा हुन्छ र डुङ्गा उल्टाउँदा पो ‘एड्भेन्चर’ हुन्छ त ! यसो भन्नेका रहरमा म मिसिन सकिनँ ।
जति तल बग्यो – रहर र उमङ्गका पत्रे खुशी थपिएका थपिएकै थिए । माथि किनारका भित्ता छुन आएका लहर हेर्दै मनमा उत्साह अग्लिन्थ्यो बेस्सरी । गति त ढुङ्गा होस् कि पानी – सबैमा हुँदो रहेछ बराबरी ।
डुङ्गाहरु पर्लक्क– पर्लक्क पल्टिए । कति मनोरञ्जनका रुपमा बहेलिन्थे । कति अत्तालिएर हाँफझाप गर्थे । कति चैं स्वभाविकै रुपमा तैरिन्थे छालमा ।
हामी वरपर पानीमा घुमिरहेकाहरु रोमाञ्च र खुल्दुलीले आँखाको परेली उचाल्थ्यौं माथि–माथिसम्म ।
जीवन त यस्तै परीपरीका गतिमा बगिरहने परिणाम हो नि !
गोपाल राना– म बसेको डुङ्गाका नायक थिए । उनले अगाडि–पछाडि मोड, दाँया–बाँया चाल वा डुङ्गाभित्र पसिहाल्नु जस्ता शब्द अनेकौं चड्केर बोले । कति खेप छालमा तलमाथि हुँदाको मज्जा लिन हामी उनका निर्देशन सुन्नै बिर्संदा रहेछौँ – अनि खप्की पनि खान पुग्थ्यौं ।
‘रोक–रोक !’ रानाले भनिरहँदा नि हाम्रो दल छाल चुम्न आतुर भएर बहना चलाइरहेकै हुन्थे । अनि त एकै पटक भूुँवरीमा खल्र्याम्मखुर्लुम्म पुग्दा पो मन हुन्थ्यो खङ्ग्रङ्गै । अनि निकाल्नलाई पथ्र्यो साह्रै सकस ।
बीस किलोमिटर बगुन्जेल पानी पर्ने र थामिने भइरह्यो । खोलाको र अकासे– दुबै पानीले चुटे पनि हृदयमा कुनै चोट पुगेन, हैरानी भएन र बिघ्न भएन । सुकुटेबाट लहरमा हेलिएका थुप्रै डुङ्गाहरु लामो साँघु पुगुञ्जेलसम्म निकै खेप घोप्टिए । तर हामी सर्लक्क ओल्र्यौं । हामीले भावलाई जितेका थियौं– सुरक्षित, आनन्दित र सफलतासाथ ।
साथीहरु पटक–पटक चिच्याउँथे– ‘यो बोट हो भाले । भाले डुङ्गाले अरु जितेको सहन सक्तैन ।’ हुन पनि हामीले अरुलाई धेरै खेप जितेका थियौं । केही छिन रोकिए पनि कुशल र बलिया मित्रहरु डुङ्गा हुइँक्याइहाल्थे भोटेकोशीमा ।
म बसेको डुङ्गामा हुनेहरु काठमाडौंको भीडमा नि मस्तले मोटरसाइकल हुइँक्याउने खालका तन्नेरी थिए । तिनले यो डुङ्गालाई नि त्यै रुपमा हेरेका हुँदा हुन् शायद । अनि पो त डुङ्गा अगाडिको अगाडि नै हुन पुग्यो, भाले डुङ्गा ।
भोटेकोशीको छाललाई मैले नुहाइदिएँ त्यस दिन !

Leave a Reply