चलचित्र ‘कमाण्डर’ले पायो एकल प्रदर्शनको अवसर

भोलि अर्थात् माघ १० गते शुक्रवारबाट एउटा मात्र नेपाली चलचित्र ‘कमाण्डर’ देशव्यापी प्रदर्शनमा आउँदैछ । समसामयिक राजनीति, भ्रष्टाचार, तस्करी, कालोबजारीलगायतका विषयको विरुद्ध आवाजका रुपमा उठाइएको चलचित्रको लेखन निर्देशन र निर्माण एलआर विवेक सापकोटाले गरेका हुन्।

हरेक शुक्रबार दुई वा दुईभन्दा बढी नेपाली चलचित्र भिड्दै आइरहेकोमा गत पौष महिनाबाट भने नेपाली चलचित्र प्रदर्शनको क्रम घटेको छ । सोहि सन्दर्भमा निर्माण भएको लामो समयपछि प्रदर्शन हुन लागेको चलचित्र ‘कमाण्डर’ले एकल प्रदर्शनको अवसर पाएको छ । चलचित्रमा अभिनेता अनुप विक्रम शाही, रोविन तामाङ, ध्रुव कोइराला, श्रीराम पुडासैनी, प्रेम शर्मालगायतका कलाकारहरुको अभिनय छ । यो चलचित्रबाट सगुन थापा र साधना सिलवालले अभिनयमा डेब्यू गर्दैछन् । चलचित्रमा अनुप प्रहरी अधिकृतको भूमिकामा छन् ।

इमान्दार प्रहरी अधिकृतले देश र नागरिकको हिफाजतका लागि के कस्ता परिस्थितिहरु सामना गर्नुपर्छ भन्ने बिषयमा निर्माण गरिएको चलचित्रले भरपुर मनोरञ्जनका साथै देशप्रतिको प्रेम भाव र सामाजिक संदेश समेत प्रवाह गर्ने निर्देशक सापकोटा बताउँछन् । आमदर्शकले चलचित्र मन पराउनेमा निर्देशक सापकोटा पूर्ण विश्वस्त रहेको बताउँछन् ।

सुपेरियर फिल्मस्को ब्यानरमा विवेक सापकोटाको प्रस्तुति रहेको चलचित्रको सह-निर्मातामा सावनजंग राना रहेका छन् । दिव्य सुवेदीले खिचेको चलचित्र ‘कमाण्डर’ मा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, पवित्रा आचार्यले कोरियोग्राफी तथा मनोज चौलागाईंको शब्द र संगीत छ । चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

Leave a Reply