‘झिँगेदाउ’को सिक्वेल बन्ने

गत भदौ १७ गते प्रदर्शन भएको चलचित्र ‘झिंगेदाउ’ले बक्स अफिसमा उत्साहजनक व्यापार गर्यो । बलियो ‘वर्ड अफ माउथ’ को कारण ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र घरेलू बक्स अफिसमा हिट साबित भयो । अब निर्देशक देउजा चलचित्रको सिक्वेल निर्माण तयारीमा जुटेका छन् । यतिबेला महेश दवाडीले ‘झिँगेदाउ २’को स्क्रिप्ट लेखिरहेका छन् ।

‘झिँगेदाउ २’ मा पनि ‘झिँगेदाउ’कै मुख्य पाँचजना कलाकारहरूलाई प्रस्तुत गराउने निर्माता एवं निर्देशक देउजाको योजना छ । ‘सिक्वेल भएपछि कलाकार पुरानै दोहोरिनुहुनेछ’, उनले भने, ‘तर, पहिले स्क्रिप्ट फाइनल होस् । त्यसपछि मात्र उहाँहरुसँग कुरा अगाडि बढाउँछु ।’ चलचित्रको छायांकन सम्भवतः अर्को वर्ष सुरु हुनेछ । निर्देशक देउजाले ‘झिँगेदाउ’बाट करिब ७ वर्षपछि निर्देशनमा कमब्याक गरेका थिए ।

‘झिँगेदाउ’मा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल विष्ट र हिउँवाला गौतमको अभिनय थियो । चलचित्रमा केकी र आँचल जेठानी देवरानी र मुकुन र कुशल दाजुभाइको भूमिकामा थिए । पारिवारिक कथा बोकेको चलचित्रमा विवाह भएपछि दुई मिल्ने दाजु-भाईबीच श्रीमतीका कारण झगडा, आमासँग मनमुटाव, जेठानी र देवरानीबीच हुने झगडा प्रस्तुत गरिएको थियो। यस चलचित्रमा केकी र आँचलले पहिलो पटक एकसाथ काम गरेका हुन् ।

कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको चलचित्र भिमनिधि तिवारीको कथा ‘झिँगेदाउ’मा आधारित रहेको छ । प्रदीप भारद्वाजको पटकथा तथा सम्वाद लेखेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन छ । सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको ‘झिँगेदाउ’को सह-निर्मातामा सुशिल दाहाल र ईश्वर घिमिरे छन् ।

Leave a Reply