“कम्पिटिसन गर्नुपर्ने दुइ सय करोडमा बनेका हिन्दि सिनेमासँग हो ” : ‘कैफियत’ निर्देशक दशरथ गिरी

नेपाली चलचित्र ‘कैफियत’को यतिबेला बजारमा चर्चा छ । शंकर शाही ठकुरी र नन्दिता के.सी.को मुख्य अभिनय रहेको यस चलचित्रलाई माधव शर्माले लेखेका हुन् । चलचित्रमा चिन्तामणी बराल र धनबहादुर देवकोटाको लगानी रहेको छ । माघ २२ गते देखि प्रदर्शन हुने यस चलचित्रका निर्देशक दशरथ गिरी हुन् । उनै निर्देशक गिरीसँग कोरीबाटीका संवादाता रबिन्द्र कुमार गौतमले गरेको कुराकानी

१)      चलचित्र ‘कैफियत’ कस्तो खालको चलचित्र हो ?

चलचित्र भनेको एउटा मनोरंजन दिने साथ साथै केहि सन्देश दिने हेतुले तयार पारिएको हुन्छ । जति समय हामीले दर्शकको लिन्छौ तेती समय दर्शकलाई केहि मनोरंजन दिउँ र संदेश दिउँ भन्ने तवरले हामीले तयार पारेको एउटा मसालेदार फिल्म हो ‘कैफियत’ । ‘कैफियत’ एउटा कमर्सियल, सस्पेन्स, थ्रिलर खालको मुभी हो जुन सोसियल ड्रामामा बनेको छ ।

२)      चलचित्रको नाम ‘कैफियत’ राख्नुको पछाडी मुख्य कारण केहि छ कि ?

कैफियत भन्ने शब्दको एउटा सिचुएसन अनुसार अर्थ लाग्ने गर्दछ । हिसाब किताब देखि लिएर, कतै केहि छुटपुट लगायत अन्य यस शब्दको अर्थ लाग्ने गर्दछ । कुनै पनि कुराको एउटा नाम हुन्छ, त्यसतै चलचित्रको नाम पनि ‘कैफियत’ रहेको छ र चलचित्रमा कस्तो कैफियत हो भन्ने बारे दर्शकले चलचित्रनै हेर्नु पर्ने हुन्छ ।

३)      पछिल्लो पुष्तामा निकै उत्श्रिंखल र भल्गर शब्दको प्रयोग अनि ग्ल्यामरस प्रस्तुती भएका चलचित्रहरुको होडबाजीमा, नव नायक र प्राय: जसो सिम्पल पोसाकमा प्रस्तुत हुने नायिका नन्दिता के.सी.को प्रस्तुतीले चलचित्रलाई सफलता देला त ?

मैले अहिले सम्म पाएकोमा पछिल्लो पुष्ता होस् या जो कोहि दर्शक, सबैले हेर्ने र चल्ने भनेको राम्रा चलचित्रहरु हुन्, राम्रा गीत सुन्ने हो । उदाहरणका लागी नायक निखिल उप्रेतीलाई लिन सकिन्छ । हिजोको पुष्तामा पनि वहाँ चर्चित हुनुहुन्थ्यो भने आज पनि वहाँ चर्चित हुनुहुन्छ किनकि वहाँमा त्यो क्वालिटी छ । दर्शकले काम हेर्ने हो, पछिल्लो समयमा जेको होडबाजी लागे पनि चलचित्रको क्वालिटी राम्रो छ भने त्यो चल्छ । मेरो यो स्टोरीमा नन्दितानै नेपालको सबै भन्दा बेष्ट भएकोले मैले वहाँलाई अप्रोच गरेको हुँ र वहाँले यस चलचित्रमा धेरै राम्रो काम पनि गर्नु भएको छ, बाँकी दर्शककै हातमा छ । र कुरा रह्यो नयाँ नायक शंकर जीको, वहाँको लागी नयाँ भनेको सिल्भर स्क्रिन मात्र नयाँ हो । वहाँले दशौ बर्ष पहिले देखि सिरियलमा काम गरि राख्नु भएको थियो । वहाँले ‘करुणा’ जस्ता हिट सिरियलमा साथै मह जोडी तथा रमेश बुढाथोकी जस्ता अनुभवी कालाकारहरुसँग काम गरि सक्नु भएको छ । सिनेमा हेरेपछी महसुस गर्न सकिन्छ कि वहाँ सिल्भर स्क्रिनका लागी पनि नयाँ हैन । वहाँले सारै मिठो काम गर्नु भएको छ ।

४)      तपाईको चलचित्र ‘कैफियत’ पहिलो निर्देशन हो, तपाइँको यस क्षेत्र प्रतिको लगाभ बारे केहि बताइदिनु न ?

स्कुल लाइफ देखिनै कलाकारिता क्षेत्रमा मेरो बढिनै इन्टरेस्ट थियो । ०४९/०५० साल तिर हामीले सानो भिडियो टाइपको मुभी पनि बनाएउ, त्यसमा विमल पौडेल दाई हिरो हुनु हुन्थ्यो । म चाहिं साइड हिरोमा थिए । बीचमा चाहाना हुँदाहुँदै विविध कारणले यो शिलशिला ब्रेक भयो । नेपालको राजनैतिक कारणले गर्दा म यहाँ बस्न नसक्ने जस्तो स्थिती भएर म इन्डिया तिर गएँ । त्यहाँ मलाई हैदराबादमा एनिमेशनको बारेमा थाहा भयो । मैले त्यहींनै यो बारे ३६ महिनाको कोर्ष अध्यन गरे । अनि मैले त्यहींकै इन्डस्ट्रीमा काम गरे । ‘डन नम्बर वान’हरु लगायत मैले इन्टन गर्दा काम गरेका प्रोजेक्टहरु हुन् । र त्यहि टिममा बसी काम गरेपछी नेपाल आएँ । त्यसपछि हिमालय टेलिभिजनमा ग्राफिक्सका कामहरु गरे नेशनल टेलिभिजनमा सम्पादन पनि गरे । बाहिरका प्रोजेक्टका कामहरु म अहिले पनि एनिमेशनका काम गरिरहेको हुन्छु । त्यसै क्रममा आकाश अधिकारी दाईको फिल्म ‘काठमाडौँ’मा मैले नेपालको फिल्म इन्डस्ट्रीमा एनिमेशनको पोष्ट सम्हालेर काम गरे । मैले त्यसपछी थुप्रा मुभी गरे । मैले ‘अलबिदा’ लगायतका चलचित्रमा भिएफएक्स गरे । निर्देशकको तवरले बताउँदा मेरो पहिलो चलचित्र ‘कैफियत’नै हो ।

५)      तपाइँ बहु प्रतिभाशाली व्यक्तित्व हुनु हुन्छ, चलचित्रका थुप्रा पाटाहरुको ज्ञान हाँशिल गरेपछी चलचित्र ‘कैफियत’ निर्देशन गर्नु भयो, त्यसो भन्दा उचित होला ?

त्यसो भन्दा पनि मैले एनिमेशनको अध्यन गर्दा पनि ६ महिनाको कोर्ष मेरो निर्देशनमानै पर्थ्यो । जसमा क्यामेरा देखि लिएर लाइटिंगका कुरा, क्यामेरा एंगल लगयातका कुराहरु पढियो । एउटा निर्देशक भएपछी सबै कुराको नलेज राख्नु पर्छ । एउटा निर्देशकमा एडिट, भिएफेक्स, स्क्रिप्टको, साउण्डको नलेज भयो भने चलचित्र स्तरीय बन्छ भन्ने मलाई लाग्छ र ति कुरामा केहिमा धेरै र केहीमा थोरै ज्ञान ममा छ त्यसैले मलाई ‘कैफियत’ गर्दा खासै गारो भएन ।

६)      भने पछी ‘कैफियत’ निकै स्तरीय चलचित्र बनेको छ भन्दा केहि फरक नपर्ला ?

हालै यस चलचित्रको सेन्सर भयो र हल टेस्टिंगका लागी साथीहरु मिलेर हेर्दा पनि वहाँहरुलेचैं यो सिनेमा एकदमै राम्रो बनेको बताउनु भयो । यति सम्म कि वहाँहरुले धेरै मन पाराएको देख्दा मलाई ज्यादै खुसि लाग्यो । मैले सिक्नत धेरै बाँकी छ । त्यहाँ मेरो काम मन पाराइदिनु भयो र दर्शकले पनि मेरो काम मन पराइदिनु हुन्छ भन्ने कुरामा म एकदमै विस्वस्त छु ।

७)      नेपाली चलचित्र जगतमा पछिल्ला समयमा अलिक भल्गर किसिमका चलचित्रले बढी ब्यापार गरिरहेको अवस्थामा ‘कैफियत’ले कतिको दर्शकको ध्यान आकर्षण गर्न सक्ला त ?

सिनेमाहरु फरक फरक जेनर र फरक फरक किसिमका बनेका हुन्छन । भल्गर खाले चलचित्र बन्छ, त्यो हलिउड देखि बलिउड सम्म बनेको छ र बन्नु पनि पर्छ तर यसलाई सम्बन्धित निकाय लगायत सरकारले मापदण्ड तोकीदिनु पर्छ । यस्तो हाम्रो चलचित्र उद्द्योगमा गरिएको छैन यो बिडम्बना हो । अनि सिनेमा विभिन्न खाले हुन्छ साथी सर्कलसँग बसेर हेर्ने, परिवारसँग बसेर हेर्ने लगयात विभिन्न खाले हुन्छ, ‘कैफियत’ भने पारिवारिक माहोलमा बसेर हेर्न सकिने युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको चलचित्र हो । घरमा हजुरबा हजुरआमा देखि लिएर नाति नातिनासम्म बसेर हेर्न सकिने टोटलि सोसियल ड्रामामा सम्बन्धित भएकाले यसले दर्शकको ध्यान आकर्षण गर्ने कुरामा म एकदमै विश्वस्त छु ।

८)      माघ २२ बाट ‘कैफियत’ लगायत अन्य चलचित्रहरु पनि लाग्छन, यसरी चलचित्र जुदाउँदा एउटा निर्देशकको तवरले भन्दा ‘कैफियत’ले अरुलाई उछिन्ला या अरुले ‘कैफियत’लाई उछिन्ला ?

मैले ‘कैफियत’ले उछिन्ला वा अरुले उछिन्ला भन्न मिल्दैन । गीतामा भगवान कृष्णले भनेका छन् ‘काम गर फलको आश नगर’, भने झैँ हामीले पनि यस चलचित्रमा काम गरेका छौ, फल दिने भनेको दर्शकले  हो । हाम्रो लागी एक हप्ता समय हुन्छ, अब हामीले राम्रो बनाएका छौ र हाम्रो चिज राम्रो छ भने अरु सिनेमा हेर्ने दर्शकले हाम्रो सिनेमा पनि हेर्नु हुन्छ, अरुको राम्रो बनेको छ भने हाम्रो सिनेमा हेर्ने दर्शकले अरुको सिनेमा हेर्छ । यसमा मलाई कुनै दुख लाग्दैन ।

९)      नेपालमा एउटा चलचित्र चल्न गीत संगीतले पनि महत्वपूर्ण भूमिका खेल्दछ, यस चलचित्रको गीतहरु रिलेज भएका छन् भने गीत संगीतमा उत्कृष्ट गायक गायिका समावेश छन्, गीत संगीतको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?  

हो, हाम्रो चलचित्रको गीत संगीत जसले पनि सुन्नु भएको छ, वहाँले एकदमै राम्रो भएको प्रतिक्रिया दिनु भएको छ । हामीले उदित दाईको गीत बम्बईनै गएर रेकर्ड गरेर ल्याएका छौं भने नेपालमा रेकर्डिङ भएकामा पनि राजेश पायल राई ज्यु, मिलन अमात्य ज्यु, अन्जु पन्त तथा राज सिग्देल लगायतले निकै उत्कृष्ट काम गर्नु भएको छ । त्यस्तै अर्जुन ज्युले पनि निकै मेहनत गरेर संगीत बनाउनु भएको छ । गीत संगीत एकदमै राम्रो बनेको देखि सकिएको कुरा हो । गीत संगीत ससक्त भएको प्रतिक्रिया छ भने पुरा मुभिनै ससक्त बनेको छ । हामीले प्रत्यक फ्रेममा मेहनत गरेका छौं । अहिले चलचित्रमा बन्दै गएको क्रान्तिमा चलचित्र ‘कैफियत’लाई उत्कृष्ट र भिन्न रुपमा दर्शकले पाउने कुरामा म प्रतिबद्ध छु ।

१०)  अन्त्यमा

अन्त्यमा म मेरा दर्शक स्रोतालाई, नेपाली सिनेमालाई मायाँ गर्नु पर्छ किनकि हाम्रो संस्कृती यसैमा लुकेको हुन्छ । ‘कैफियत’ आफैमा राम्रो सिनेमा बनेको छ । हुनत कसैले पनि नराम्रो बनाउँछु भनेर बनाएको त हुन्न तर राम्रो नराम्रो बन्नु विभिन्न कारणहरु हुन्छन । हामीले कम्पिटिसन गर्नुपर्ने भनेको सय करोड दुइ सय करोडमा बनेका हिन्दि सिनेमासँग छ । हाम्रो चलचित्र भनेको लाखमा बनेका हुन्छन । बलिउडका तुलनामा केहि न केहि कमि हाम्रा सिनेमामा हुन्छन, त्यो मैले पनि स्विकार गर्नै पर्छ । त्यो हुँदाहुँदै पनि म दर्शकलाई नेपाली सिनेमा हेरिदिनुहोस, मायाँ गरिदिनुहोस् यसलाई बचाईराख्नु पर्छ । भोली हामी पनि बलिउड र हलिउडको तुलनामा जान सक्छौ त्यसका लागी दर्शकले हामीलाई साथ दिनुपर्छ । त्यसैले नेपाली सिनेमालाई मायाँ गरिदिनुहोस भन्न चाहन्छु ।

Leave a Reply