मेयर पद राजनिती हैन, काम गर्ने ठाउँ होः बालेन

पुरानो भो इतिहास केहि फेरिएन
बाँकी हुँदा यत्ति सास मोह मेटिएन
कहाँ कुद्छ रेल, यहाँ बाटो भेटिएन
कलाकारलाई जेल मुर्ख लाटोले बुझेन
अपराधी देशमा छन् घुमिराको साइरनमा
सफा पानी चढाकोछ आउँदैछ रे साइकलमा
फोक्कटमा बेच, मेलम्ची कसले ल्याइरहन्छ
यो व्यापार हो सबै, यो राजनिती हैन

बालेन्द्र शाह उर्फ बालेनको बलिदान नामको हिपअप गीतको पंक्तिहरु हुन् यी । झण्डै एक दशकदेखि कलाको क्षेत्रमा सक्रिय बालेन आफ्ना फ्यानलाई अचम्ममा पार्दै नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने तयारीमा छन् । उनि आगामी निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उमेद्वारका रुपमा प्रतिस्पर्धा गर्दै छन् ।

सरकारले स्थानिय तहको निर्वाचन बैशाख ३० गते गर्ने घोषणा गरेको छ । पाँच बर्षे कार्यकालका लागि हुने सो निर्वाचनमा बालेन एक उम्मेदवारका रुपमा आएका छन् ।

कला र इतिहासमा लगाब भएका बालेन पेशाले स्ट्रक्चरल इन्जिनियर हुन् । एसियन कन्स्ट्रक्सन, ब्रिज इन्जिनियरिङ, सोल्टी सिटीमा प्रोजेक्ट म्यानेजर लगायत धेरै कम्पनीहरुमा उनले काम गरिसकेका छन् । त्यस्तै २०७२ सालको भुकम्पपछि पुर्ननिर्माणका क्रममा देशका झण्डै ६५ जिल्लामा भौतिक पुर्वाधारमा काम गरिसकेका उनका फलोअर्स लाखौं संख्यामा छन् ।

नेपालको शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात लगायतका क्षेत्रमा उनका महत्वकांक्षी तर व्यवहारिक योजना सहित उनि चुनावमा होमिएका हुन् ।

उनले भने, “मेरो प्राथमिकता शिक्षा क्षेत्रमा छ । शिक्षा हाम्रो रहर हैन, अधिकार हो । कुनै व्यक्ति जन्मेपछि उसले थाहा नपाए पनि पाउनै पर्ने अधिकारका लागि अहिले पनि आवाज उठाउने अवस्था हुनु भनेको निकै दुखद कुरा हो ।”

आफू मेयर बनेपछि, सामुदायिक स्कुलको शिक्षालाई कसरी प्रभावकारी बनाउने, शिक्षकको क्षमता कसरी बढाउने भन्ने जस्ता कुरामा काम गर्ने उनले सुनाए । भने, “गणित, विज्ञान जस्ता कुराहरु प्राविधिक बिषय हुन् । यसलाई अरु देशको सहकार्यमा विश्वस्तरिय बनाउन जरुरी छ । भने हाम्रा लागि विशेष शिक्षाहरु पनि अत्यावश्यक हुन्छ । यस्ता शिक्षाको कमिले हामीले आँखाकै अगाडि भएका संस्कृति र सम्पदाहरुको अर्थ बुझ्न सकेका छैनौँ । उदाहरण हेर्नुहोस्, नेपालमा; अझ काठमाडौमा नै पनि रहेका इतिहास मेटिइसके ।” यहाँका कला, संस्कृति, जात्रा लगायतका बारेमा पाठ्यक्रम बनाएर अनिवार्य लागु गराउने उनको योजना छ ।

त्यस्तै, कुनै बिद्यार्थी पढाइ सकेर व्यवसाय गर्न चाहन्छ भने महानगरपालिकाले ‘सिड मनी’ उपलब्ध गराउने उनको योजना छ । यसका बारेमा उनि भन्छन्, “कम ब्याजमा, प्रमाणपत्रको आधारमा ‘सिड मनी’ उपलब्ध गराउन सकियो भने उसलाई काम गर्न हौसला मिल्छ ।”

स्वास्थ्यको क्षेत्रमा पनि उनको सपना ठुलो छ । भन्छन्, “म वडामा अस्पताल बन्नुलाई विकास देख्दिन, रोगीहरुको ठाउँ देख्छु । बरु एक वडा एक सामुदायिक स्वास्थ्य चौकी बनाउन जरुरी छ ।” बालेनले भने, “सिटामोल मात्रै दिने स्वास्थ्य चौकी हैन, प्रयोगशाला सहितको ल्याब टेक्निसयन, नर्स, डाक्टर सहितको स्वास्थ्य चौकी । साना तर घरपायक सुविधा भएका यस्ता स्वास्थ्य चौकीले मानिसहरुलाई स्वास्थ्यप्रति सचेत बनाउँछ भने साना समस्याहरु नै स्वास्थ्य संस्थासम्म पुगेर निराकरण गर्न प्रोत्साहन दिनेछ । सुरुवाती समयमै समस्या थाहा पाए समाधान गर्न सकिन्छ, ठुला अस्पतालको धैरै जरुरत नै पदैन ।”

उनलाई नेपालका चिकित्सक विदेश गएको पनि मन परेको छैन । भन्छन्, “यदि म काठमाडौंको मेयर भएँ भने, चिकित्सकलाई नेपालमै बस्ने गरेर सेवा सुविधा बढाउने प्रयत्न गर्छु । कुनै चिकित्सक उत्पादन गर्न राज्यले धेरै खर्च गरिसकेको हुन्छ भने व्यक्ति वा परिवारको पनि लगानी र अपेक्षा धेरै भइसकेको हुन्छ । त्यसको उचित सम्मान र व्यवस्थापन गर्न सकियो भने राज्यको, स्वयम व्यक्ति र परिवारको लगानी विदेश बाहिरिन पाउँदैन ।”

फोहोर ब्यवस्थापनका लागि पनि गज्जवको तयारी छ बालेनको । उनले भने, “आधा फोहोरको प्रांगारिक मल, काम लाग्ने प्लाष्टिक पुर्नप्रयोग गर्न सकिन्छ । बाँकी फोहोरलाई सानो आकार बनाउन सकिन्छ । यो काम यति सजिलो ढंगले गर्न सकिन्छ कि यतिका समय हामीले किन गरेनौँ भनेर परिवार आफै अचम्म मान्नेछ भने राज्यका लागि यो सहज र व्यवहारिक हुनेछ ।”

सडक व्यवस्थापनका बिषयमा उनले भने, “हामीलाई सडक व्यवस्थापन भन्ने बित्तिकै ट्राफिक व्यवस्थापन भन्ने सम्झना हुन्छ तर सडक व्यवस्थापन त्यति मात्रै होइन । हामीले भोगिरहेका कारण ट्राफिक व्यवस्थापन जटिल लाग्छ तर यो त्यस्तो जटिल पनि होइन । हामीले केवल ठुला सडकहरुले ट्राफिक व्यवस्थापन हुन्छ भन्ने सोचेर सडकका घर ड्यामड्यामी भत्कायौँ तर पनि हाम्रा समस्या उस्तै छन् । भने पछि हाम्रो समाधानले काम गरेको छैन । अहिले भइरहेको सडककै राम्रो प्रयोगले ट्राफिक व्यवस्थापन हुन सक्छ । हामी काठमाडौंलाई १२ घण्टा हैन, २४ सै घण्टा खुला राख्न सक्छौं । जसले गर्दा सवारीसाधनको चाप एकै समयमा हुँदैन । यसले पनि ट्राफिक व्यवस्थापनमा सहयोग गर्छ ।”

धुलो र सडक व्यवस्थापनमा लागि इन्फास्ट्रक्चर एम्बुलेन्सको धारणा ल्याएको उनले बताए । भने, “सानो खाल्टो ठुलो हुँदै सडक बिग्रने हो ।” उनका अनुसार इन्फास्ट्रक्चर एम्बुलेन्स भनेको भौतिक पुर्वाधार एम्बुलेन्स हो, यो सँधै तयार अवस्थामा हुन्छ । कतै धुलो उडेको देख्दा वा साना खाल्डाखुल्डी देख्दा फोन गरेर खबर दिन सकिने र त्यहाँ तुरुन्तै पुगेर सामान्य मर्मत सम्भार गरेर समस्या बढ्न दिदैन ।

यी र यस्ता धेरै योजना उनले तयार पारेका छन् । भन्छन्, “अहिलेसम्म हामीले घोषणापत्र भनेर लिखित रुपमा निकालिसकेका छैनौं । मौखिक प्रचार मात्रै हो ।” उनले उत्साहित हुँदै थपे, “मेयर पद भनेको राजनिती गर्ने हैन, काम गर्ने ठाउँ हो । म काम गर्ने मानिस हो । विकाश भनेको मेरो लागि खुसीको आधार हो ।”

बालेनको नजरमा विकाश भनेको मानिसको खुसी हो । कुनै जनतालाई दुःख दिएर भौतिक निर्माण गरिएको छ भने त्यो विकाश हुन सक्दैन । जहाँ भौतिक निर्माण बने वापत् जनता दुखी हुन्छन्, त्यो विकाश हैन । विकाशले जनतालाई पहिले भन्दा खुसी, सहज र उत्साहित बनाउनु पर्छ ।

हाम्रो देशमा भौतिक पुर्वाधार निर्माण हुनुलाई मात्रै बिकाश मान्ने चलन छ । उनले भने, “तर यो मात्रै विकाश हैन, मानिसको शैक्षिक स्तर बृद्धि हुदै जानु, आर्थिक र सामाजिकरुपमा बलियो हुदै जानु, सोचाइ फराकिलो बन्दै जानु, जीवनशैली थप स्वस्थकर तथा थप सहज हुदै जानु र मानसिक रुपमा स्वस्थ, खुसी हुने अवस्थाहरु बढ्दै गर्नु चैँ विकाश हो ।

बालेनले भने, “हाम्रा केहि नेताहरुले विकाश गर्ने भन्दै धेरैको घरवास उठाएर सडक बिस्तार गरेका छन् । यहाँ सडक बिस्तार हैन, सडक व्यवस्थापनको जरुरी हो । विकाशका नाममा जनता सुकुम्बासी बनाउनु एक प्रकारले अपराध हो ।”

युवा, कलाकार र शिक्षित मानिसको प्याकेज : बालेनले उमेद्वारी घोषणा गर्ने बित्तिकै विभिन्न मानिसहरुसँग तुलना गर्ने क्रम बढ्यो । युवा भनेर चिन्नेहरुले उनको तुलना अघिल्लो चुनावकी उम्मेदवार रन्जु दर्शनासँग गरे । कलाकार भनेर चिन्नेहरुले कोमल ओली, रेखा थापाहरुसँग तुलना गरे । पढेलेखेको बौद्धिक भनेर चिन्नेहरुले उज्वल थापा तथा बाबुराम भट्टराइदेखि रविन्द्र मिश्रसम्मका मानिससँग दाँजे ।

“म यी सबै गुण एकैमा भएको मानिस हुँ । युवा हुँ, कलाकार हुँ र धेरै पुर्वाधारका काम गरिसकेको आफ्नो क्षेत्रमा बिज्ञता हाँसिल गरेको स्ट्रक्चरल इन्जिनियर पनि हुँ ।” यो बिषयमा बालेनले भने, “यस अघि काठमाण्डौँका नागरिकहरुमा विकल्प थिएन । सबै प्रयोग भएर पनि असफल सावित भएका मानिस थिए, एउटा रोज्नै पर्ने छ । यस्तोमा असफल भएको तर त्यसमा पनि सबै भन्दा सजिलो वा आफुलाई लागेको उत्कृष्ट नै छाने ।” उनले हाँस्दै भने, “अब भने काठमाडौं महानगरपालिकाका भोटरलाई छान्ने विकल्पमा उत्कृष्ट मानिस पनि छ । किनभने म उज्वल थापा र रन्जु दर्शना जस्तो युवा हो । रेखा थापा, कोमल ओली जस्तो कलाकार हो । बाबुराम भट्टराई, रविन्द्र मिश्र जस्तो पढेलेखेको मानिस पनि हो । उहाँहरुले ति तीन जनालाई भोट हाले बराबरको म एक भोट हो ।”

“कतिलाई लाग्ला, यो नयाँ छ र काठमाण्डौँमा जित्न मुस्किल छ । यसैले हार्नेलाई दिएर आफ्नो भोट किन खेर फ्याल्नु ?” बालेनले गम्भिर भएर भने, “तपाई पुरानासँग खुसी हुनुहुन्न र नयाँ चाहनु हुन्छ भन्ने बताउने पनि यो मौका हो । जित्नु र हार्नु अलग कुरा हो । कोशिस मुख्य कुरा हो ।”

Leave a Reply