‘सरी मम’को टिजर सार्वजनिक

लागुऔषध दुर्व्यसनीको कथा समेटेर तयार पारिएको चलचित्र ‘सरी मम’को टिजर सार्वजनिक भएको छ । अभिनेत्री सरिता लामिछानेको जन्मदिन अवसरमा टिजर सार्वजनिक भएको हो । चलचित्रमा दुर्व्यसनमा परेपछि उत्पन्न हुने परिस्थिति, त्यसले व्यक्ति र परिवारलाई पार्ने असरलाई समेटिएको छ ।

टिजर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति पनि पोस्टपण्ड भएको घोषणा गरिएको छ । चलचित्र पूर्वघोषित मिति मंसिर १५ गते प्रदर्शन हुने छैन । अब भने मंसिर २९ गते प्रदर्शन हुने भएको छ । चलचित्रमा सरोज खनाल, सरिता लामिछाने, एलिस राई, प्रभात पल, प्रविल कडेल, आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाइँ, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारी अभिनयमा छन् । चलचित्रमा दीर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन छ । आयुष वुढाथोकी र सरोज पौडेलले लेखेको चलचित्रका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ छन् । एनएफआई क्रियशनको तर्फबाट चलचित्र निर्माण भएको हो ।

चलचित्रलाई नविन बोगटीले निर्देशन गरेका हुन् । राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पछिल्लो समय दुर्व्यसनीका घटना बढिरहँदा कुलतमा फसेका युवायुवतीलाई लक्षित गरि चलचित्रमार्फत चेतनामुलक सन्देश दिने उद्देश्यले ‘सरी मम’ बनाएको चलचित्रका कार्यकारी निर्माता विनोद लामाले बताए । चलचित्रको कथा पनि लामाको नै हो । ‘सरी मम’ एक चलचित्रमात्र नभएर कुलत बिरुद्धको सामाजिक अभियान समेत रहेको निर्देशक बोगटी बताउँछन् ।

चलचित्रको प्रदर्शनी तथा च्यारेटीलाई सरकारी स्तरबाट प्रदेश सरकार, नगरपालिका, गाउँपालिका, नेपाल प्रहरीसँगै नेपाल जेसिज, नार्कोनान नेपाल शिक्षा क्षेत्रमा कृयाशिल प्रतिष्ठित संस्थाहरू प्याब्सन, एन-प्याब्स, हिसान, शिक्षक महासंघलगायतले चलचित्रलाई लक्षित वर्गसम्म पुर्‍याउनका लागि सहकार्य गर्नेछन् । चलचित्रको प्रदर्शनीमा नेपाल जेसिजले समेत सहकार्य गरेको छ । जेसिजका देशभरीका १ सय ७४ वटा शाखाहरूले समेत प्रदर्शनीमा सहकार्य गर्नेछन् ।

Leave a Reply