नाजिर हुसैनको ‘गुलाबी’को छायाँकन सम्पन्न

समुन्द्र भट्टको निर्देशनमा निर्माण भएको चलचित्र ‘गुलाबी’को छायांकन सकिएको छ । कास्कीको धम्पुसबाट छायांकन सुरु भएको चलचित्रको आइतवार छायांकन सकिएको हो । ठमेलमा अन्तिम दृश्य खिचिएसँगै ३२ दिनमा चलचित्रको छायांकन सकिएको छ ।

पारलैङ्गिकताको कथामा निर्माण भएको चलचित्रमा अभिनेता नाजिर हुसेनको मुख्य भूमिकामा रहेको छ । चलचित्रमा अभिनेत्री सञ्चिता लुइँटेलको पनि मुख्य भूमिका रहेको छ । चलचित्रमा नाजिर र सञ्चितासँगै सुशिल सिटौला, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’ मुख्य अभिनयमा छन् । निर्देशक भट्टकै कथामा बन्न लागेको चलचित्रमा पटकथा तथा संवाद रामकुमार श्रेष्ठ र नाजिर हुसैनको छ ।

दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानर र अनुपम फिल्मस् सँगको सहकार्यमा निर्माण भएको ‘गुलाबी’लाई आलोक शुक्लाले छायांकन गरेका हुन् । भद्र भुजेल एसोसिएट निर्देशक रहेको चलचित्रमा पुष्कर लामाको निर्माण नियन्त्रण छ भने निर्माण व्यवस्थापकमा यम वली छन् । सीमा गुरुङको शृङ्गार छ ।

क्यानडाको टोरन्टो फिल्म स्कुलबाट निर्देशन कक्षा लिएर नेपाल फर्केकी निर्देशक भट्टले केहि वर्ष पहिले ‘आधा पेज’ नामको चलचित्र निर्देशन गरेकी थिइन् । केहि वर्षको अन्तरपछि भट्ट पुनः चलचित्र निर्देशनमा फर्किएकी हुन् ।

Leave a Reply