‘डेसान’ को टिजरमा भोला र नम्रताको लुकामारी

आगामी मंसिर २३ गते प्रदर्शन हुने सामाजिक महामारीको कथामा निर्माण गरिएको चलचित्र ‘डेसान’ को टिजर सार्वजनिक गरिएको छ । राजधानीमा बुधबार प्रेसमिट गरी दर्शकमाझ ल्याइएको टिजरमा पारिवारिक सम्बन्ध, प्रेममा हुने असमझदारी तथा सामाजिक न्यायको बिषयलाई प्रस्तुत गरिएको देखिन्छ ।

कमल एक्चै मगर निर्देशित चलचित्रमा भोला सापकोटा, नम्रता सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमीशा सारु मगरलगायतको अभिनय छ । टिजरमा चलचित्रका सबै प्रमुख कलाकार समेटिएको छ । निर्देशक कमलले ‘डेसान’ कोरोना महामारी त्रासादी कालमा निकै सकसका साथ छायांकन गरिएको स्मरण गरे । उनले कोरोनाका कारण सबैतिर अन्यौलको वातावरण भएको बेलामा आफूहरुले जोखिम मोलेर सुटिङ गरेको बताए । अभिनेत्री नम्रताले कोरोना कालमा सुटिङ गर्दा कतिपय ठाउँमा असहयोग र असहजता भए तापनि अहिले चलचित्र प्रदर्शन हुन लाग्दा भने त्यतिबेलाको दुखपीडा बिर्सिएको बताइन् ।

अभिनेता भोला सापकोटाले पनि कोरोना भाइरसको त्रासले गर्दा ‘डेसान’ को सुटिङका क्रममा दुख खेप्नु परेको सम्झदै अब भने चलचित्र रिलिज हुन लागेकोमा खुशी ब्यक्त गरे । निर्देशक मगरले सुटिङमा दुःख पाएको भए तापनि अहिले चलचित्र हेर्दा सबै पीडा भुलेको बताए । ‘दर्शकको लागि निकै दुख गरेर चलचित्र बनाएका छौ,’ उनले भने,‘फिल्मले पूर्ण मनोरञ्जनका साथै सामाजिक सन्देश पनि प्रवाह गरेको छ । त्यसैले आम दर्शकलाई हेर्न आग्रह गर्दछु ।’

पर्फमिङ आर्ट कृएसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको चलचित्रको कथा राजु काउचाले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै हो । चक्रबहादुर महर्जनले खिचेको चलचित्रमा हरि लम्सालको संगीत, राजु थापाको शब्द तथा प्रताप दास र प्रबिशा अधिकारीको स्वर तथा अजय स्याङतेनको कोरियोग्राफी छ । मिलन श्रेष्ठले सम्पादन गरेको चलचित्रको बितरण एफडि,जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले गर्दैछ ।
हेर्नुस् टिजरः

Leave a Reply