‘नाङ्गो गाउँ’को टिजरमा गाउँमा हुने राजनीतिक परिवेशको कथा

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘नाङ्गो गाउँ’को टिजर सार्वजनिक भएको छ । आगामी भदौ २९ गतेबाट प्रदर्शन हुन लागेको चलचित्रको टिजरमा गाउँमा हुने राजनीतिक परिवेशलाई प्रस्तुत गरिएको छ । चलचित्रको सार्वजनिक २ मिनेट ४५ सेकेण्ड लामो टिजरले एक गाउँलाई राजनितिले कसरी नाङ्गो बनाउँछ भन्ने देखाइएको छ ।

टिजरमा चलचित्रको प्रमुख कलाकारहरुलाई स्थान दिइएको छ । जसअनुसार दयाहाङ राईले पासाङ तामाङ नामक एक इमान्दार शिक्षकको भूमिका निर्वाह गरेका छन् । मिरुना मगरलाई पासाङ (दयाहाङ)की श्रीमतीको भूमिकामा देखाइएको छ । शिशिर बाङ्देलले जरी लामा नामक गाउँका अध्यक्षको भूमिका निर्वाह गरेका छन् । टिजरमा कर्मा र साम्राज्ञी आरएल शाहलाई प्रेम जोडीको रुपमा चित्रित गरिएको छ ।

चलचित्रमा बुद्धि तामाङ, रविन्द्र झा, राज थापा, कमलमणी नेपाल, अंकित खड्का, पुष्कर गुरुङ, विशाल पहारी, घनुभाई जोशी, निमा पाण्डेलगायतको पनि अभिनय छ । मनिषमा फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रको छायांकन काभ्रेमको बेथानचोक गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको थियो ।

हिमाल शर्माको प्रस्तुतीमा तयार भएको फिल्ममा जय श्रेष्ठ निर्माताको रुपमा छन् । फिल्ममा आलोक शुक्लाको छायांकन, बनिष शाहको सम्पादन छ । यो फिल्मलाई लिएर देश तथा विदेशमा रहेका दर्शकमा प्रतिक्षा छ । यहीकारणले गर्दा पनि फिल्मको विदेश राइट्स विक्री भैरहेको छ । निर्देशक लामाले निर्देशन गरेको ‘२ नम्बरी’ फिल्म गतबर्ष सुपरहिट भएको थियो । फिल्म ‘नाङ्गो गाउँ’लाई आरआर फिल्मस्ले वितरण गर्दैछ । चलचित्र नेपालसँगै अमेरिका र क्यानडासहित २२ भन्दा बढी राज्यमा एकसाथ प्रदर्शन हुनेछ ।

Leave a Reply