‘के घर के डेरा’को पहिलो साताको ग्रस कमाइ साढे ३ करोडभन्दा माथि

तिहारको अवसर पारेर गत कात्तिक ४ गतेबाट प्रदर्शनमा आएको दीपेन्द्र के. खनाल निर्देशित मल्टीस्टारर चलचित्र ‘के घर के डेरा’को पहिलो हप्ताको व्यापार आक्रामक रहेको छ । चलचित्रले पहिलो सात दिनमा ३ करोड ६३ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । पहिलो हप्तामा साढे ३ करोडमाथि कमाई गरेको निर्माण कम्पनी ए प्लस इन्टरटेन्मेन्टले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।

शुक्रवारबाट दोस्रो हप्तामा प्रदर्शन थालनी गरेको यो चलचित्रले तिहार बिदाको मौकामा चलचित्रले बक्स अफिसमा आक्रामक व्यापार गरेको थियो । शुक्रबारदेखि ‘महापुरुष’ रिलिज भएपनि चलचित्रले शतप्रतिशत अकुपेन्सी कायम गरेको छ । काठमाडौँमा बस्ने डेरावाल र घरबेटी बीचको कथा भन्ने चलचित्रमा अभिनेता द्वय दयाहाङ राई र विपिन कार्की, सुरक्षा पन्त, रविन्द्र झा, वर्षा राउतसँगै लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतका कलाकारको अभिनय छ ।

चलचित्रको पटकथा तथा संवाद महेश दवाडीको हो । सिंगे लामाको कथा रहेको चलचित्रमा शंकर थापा स्माइल तथा कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।

Leave a Reply