‘ऐना झ्यालको पुतली’ निर्देशक सुजित बिडारीको सुर्खेतमा मास्टरक्लास

‘ऐना झ्यालको पुतली’ निर्देशक सुजित बिडारीले सुर्खेतमा फिल्मकर्मीलाई मास्टरक्लास दिने भएका छन् । सुजितले ११ औँ संस्करणको नेपाल युरोपियन फिल्म महोत्सवमा अन्तिम दिन फिल्म मेकिङ सम्बन्धी क्लास दिने भएका हुन् ।

नेपाल युरोपियन फिल्म फेस्टिभलको ११ औँ संस्करण यो पटक काठमाडौँसँगै पहिलोपल्ट सुर्खेतमा पनि हुँदैछ । सुर्खेतको मध्यपश्चिम विश्वविद्यालयमा चार दिन चल्ने फिल्म महोत्सवमा ५ युरोपियन र ३ नेपाली फिल्म प्रदर्शन हुनेछन् । यसरी प्रदर्शन हुने ३ नेपाली फिल्ममा सुजित बिडारी लिखित तथा निर्देशित ‘ऐना झ्यालको पुतली’पनि रहेको छ । महोत्सव कात्तिक १९ गते सुरु भएर २२ गते सकिनेछ ।

मास्टरक्लासमा आफ्नो अनुभव बाँड्न उत्साहित सुजितले महोत्सवको अन्तिम दिन फिल्म मेकिङ सम्बन्धी आफ्नो ज्ञान बाँड्नेछन् । सुजितले कात्तिक २२ गतेको पहिलो प्रहरमा नै फिल्म बनाउन चाहिने कथादेखि त्यसलाई खिच्ने तरिकासम्मको बारेमा छलफल गर्ने जानकारी गराए । उनले भने, ‘मास्टरक्लासमा मैले फिल्म बनाउन चाहिने आइडियादेखि त्यो आइडियालाई कथा हुँदै पटकथामा रुपान्तरण गर्ने र अन्त्यमा त्यसलाई दृश्यमा रुपान्तरण गर्ने प्रक्रियाको बारेमा आफ्नो अनुभव बाँड्नेछु ।’

अस्कर कलेजबाट फिल्म मेकिङमा स्नातक सुजितले मास्टरक्लासको दौरानमा सर्ट फिल्म देखाउँदै अन्तक्र्रिया अगाडि बढाउने बताएका छन् । यो दौरानमा सुजितले आफू स्वयम् निर्देशित ‘सावित्री’सँगै विश्व प्रसिद्ध सर्ट फिल्म पनि देखाउने जानकारी गराए ।

नेपाल युरोपियन फिल्म महोत्सवको ११ औँ संस्करण काठमाडौँमा भौतिक रुपमा कात्तिक ११ देखि १५ गतेसम्म चलचित्र विकास बोर्डको हलमा चल्दैछ भने अनलाइनमा अक्टोबर २८ देखि नोभेम्बर २८ सम्म हेर्न पाइनेछ ।

Leave a Reply