‘लप्पन छप्पन २’ले प्रदर्शनका लागि फेरी रोज्यो शिवरात्री

चलचित्र ‘लप्पन छप्पन २’ शिवरात्रीलाई लक्षित गर्दै फागुनमा प्रदर्शन हुने भएको छ । निर्देशक मुकुन्द भट्टले सामाजिक संजालबाट फागुणको १३ गते चलचित्र प्रदर्शन हुने बताएका छन् । उनले लेखेका छन्,‘कोरोना महामारीका कारण हामीले ‘लप्पन छप्पन २’ लाई पूर्व घोषित मितिमा रिलिज गर्न सकेनौं । तथापी, अब हामीले आउँदो फागुन १३ गते महाशिवरात्रीको अवसर पारेर रिलिज गर्ने योजना बनाएका छौं ।’

२०७६ सालको असारमा मुहूर्त गर्दा चलचित्र ‘लप्पन छप्पन २’ ले पनि प्रदर्शनका लागि महाशिवरात्री रोजेको थियो तर, घोषित मितिमा रिलिज हुन सकेन । शिवरात्रीमा रिलिज हुन नसकेको चलचित्रलाई निर्माणपक्षले नयाँ बर्षको छेकोमा चैत २७ गते प्रदर्शनमा आउने तयारीमा थियो । तर,फेरि कोरोना संक्रमण भयावह रुपमा फैलिएपछि यो मितिमा पनि चलचित्र प्रदर्शन हुन सकेन र पोष्टपोन्ड भयो ।

यो चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा लगायतको अभिनय रहेको छ । सुरज अधिकारी र प्रजापति सिवाकोटी कार्यकारी निर्माता रहेको चलचित्रको निर्मातामा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोष चन्द्र भक्रेल छन् ।

गोल्डेन हिल्स पिक्चर्स, रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता खिलेन्द्रराज तिमसिना हुन् । एक्सन जनरामा निर्मित यस चलचित्रको ट्रेलरदेखि गीतसम्म सार्वजनिक भइसकेको छ । यो चलचित्रलाई यूरोपका विभिन्न देशमा खिचिएको छ ।

बारम्बार चलचित्रको प्रदर्शन मिति तोकिएपनि प्रदर्शनमा आउन नसकेको चलचित्र ‘लप्पन छप्पन २’ले प्रदर्शनका लागि फेरी शिवरात्री रोजेको हो,अब फेरी यो चलचित्र तोकिएको मितिमै प्रदर्शनमा आउल त ?

केहि दिन अघिमात्र पनि नायक अनमोल केसी र नायिका सुहाना थापाको मुख्य अभिनय रहेको चलचित्र ‘ए मेरो हजुर ४’ले आफ्नो नयाँ प्रदर्शन मिति तय गरेको थियो । यो चलचित्र अब भने आउँदो चैत्र २५ गतेबाट रिलिज हुने जानकारी निर्माणपक्षले दिएको छ । यसअघि चलचित्रको प्रदर्शन मिति भदौ १८ गतेलाई तोकेको थियो ।

Leave a Reply