झरनाको ‘भागवत् गीता’ विरुद्ध बोर्डमा पर्‍यो उजुरी

अभिनेत्री झरना थापाको निर्देशनमा बन्न लागेको चलचित्र ‘भागवत् गीता’ विरुद्ध चलचित्र विकास बोर्डमा उजुरी परेको छ । निर्माण नहुँदै चलचित्रको नामलाई लिएर र सार्वजनिक भएको चलचित्रको टिजर र कथावस्तुप्रति ध्यानाकर्षण भएको जनाउँदै हिन्दू जागरण नेपालले सेन्सर बोर्ड र चलचित्र विकास बोर्डमा ध्यानाकर्षण पत्र बुझाएको छ । बुधवार हिन्दू जागरण नेपालले बोर्ड अध्यक्ष भुवन केसीलाई भेटेर बुझाएको उजुरी पत्रमा अन्तरजातीय प्रेमकथामा श्रीमद् भागवत् गीता जस्तो पवित्र नाममाथि चलचित्र निर्माण हुन लाग्नु दुष्कृत्य (अनुचित कार्य) रहेको भनिएको छ ।

विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापा र हिन्दू जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायद्वारा संयुक्त हस्ताक्षरीत उजुरी पत्रमा लेखिएको छ, ‘झरना थापाज्युले ‘भागवत् गीता’ नाम राखेर जसमा अन्तरजातीय प्रेमकथामा आधारित भन्ने कुरा समाचारहरुमा आएको छ । यस्ता दुष्कृत्यलाई दोहोर्‍याउन खोजेको स्पष्ट देखिन्छ । त्यसैले यदि श्रीमद् भागवद्को पवित्र नाम र ग्रन्थको महत्व दर्शाइने र आघात नपुग्ने गरि फिल्मका दृश्य छन् भने मात्र प्रसारण होस् ।’

चलचित्रमा अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहनेछ । सुनिल कुमार थापाले निर्माण गर्ने ‘भागवत् गीता’को दशैंको फूलपातीबाट छायांकन सुरु गर्ने तयारी गरिएको थियो । तर, चलचित्र लागि मुख्य अभिनेताको फाइनल नहुँदा छायांकन अघि बढ्न सकेको छैन । मधेशी समुदायकी युवती र पहाडी समुदायका युवकबीचको प्रेमकथामा चलचित्र आधारित हुने बताइएको छ ।

Leave a Reply