‘महापुरुष’को ट्रेलरमा बुबा र सन्तानबीचको कथा

कार्तिक ११ अर्थात् भाइटिकाको भोलिपल्टबाट विश्वव्यापी रिलिज हुन लागेको चलचित्र ‘महापुरुष’को ट्रेलर सार्वजनिक भएको छ । दशैंमै सिनेमा हलमा रिलिज भए पनि ट्रेलर सोमबार मात्र यूट्युबमा सार्वजनिक भएको हो । ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरु हरिवंश आचार्य, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, रविन्द्र सिंह बानियाँ, मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, सिरु विष्ट फिचर्ड छन् ।

पारिवारिक कथावस्तुमा निर्माण भएको चलचित्रको ट्रेलरमा बुबा र सन्तानबीचको कथा प्रस्तुत गरिएको छ । छोराको बिहेको बेलामा पत्नी गुमाएको बुढ्यौली पुरुष पात्रको जीवनमा महिलाको प्रवेशपछि बिहे गर्ने निर्णयपछि आउने पारिवारिक उतारचढावमा चलचित्रको कथा आधारित छ। दई पुस्ताको प्रेमको कथा भन्ने ३ मिनेट ८ सेकेण्ड लामो ट्रेलरमा रोमान्स, कमेडी, भावना र संवेदनाको समिश्रण छ ।

प्रदिप भट्टराई निर्देशित ‘महापुरुष’मा शिखा तामाङ, कोपिला थापा, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुलीलगायतका कलाकारहरुको पनि अभिनय छ ।

दीपक बज्रचार्यले खिचेको चलचित्रमा कालीप्रसाद बाँस्कोटा/रिदम कँडेलको संगीत, शंकर महर्जनको एक्सन, वाइल्ड रीपर्जको कोरियोग्राफी र मित्र डी. गुरुङको सम्पादन छ । षट्कोण आर्ट्सको व्यानरमा निर्मित चलचित्रमा रविन्द्र सिंह बानियाँको कार्यकारी निर्माण छ । म्याक्स दिपेश खत्री चलचित्रका निर्माता हुन् ।

Leave a Reply