खगेन्द्र निर्देशित ‘पानीफोटो’ आजबाट प्रदर्शनमा, दुई हिन्दी चलचित्रसँग भिड्दै

अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशन रहेको चलचित्र ‘पानीफोटो’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । मल्टीप्लेक्समा सिमित शो पाएको चलचित्रले सिंगल थिएटरमा भने राम्रो शो पाएको छ । चलचित्रले माओवादी जनयुद्धको पृष्ठभूमिमा निर्माण भएको बेपत्ता छोराको खोजीमा रहेको एक दम्पतीको कथा भन्छ ।

लेखन र अभिनयबाट लामिछानेले पाएको चर्चाको कारण पनि चलचित्रप्रति दर्शकको उच्च अपेक्षा छ । चलचित्रले देशभर एकल प्रदर्शनको अवसर पाएको हो । आज अरु कुनै नेपाली चलचित्र प्रदर्शनमा आएको छैन । तर आजबाट दुई हिन्दी चलचित्र ‘एक भिलेन रिर्टन्स’ र ‘विक्रान्त रोना’ प्रदर्शनमा आएको छ । यी दुबै चलचित्र ‘पानी फोटो’ का लागि चुनौती हुन सक्छ ।

खगेन्द्रले आफु लिखित नाटकलाई चलचित्रको स्वरुप दिएका हुन् । यो दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ कै अनुरुपण गरिएको चलचित्र हो । चलचित्रमा खगेन्द्रसंगै सुनिल पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, राधा श्रेष्ठ,अजस्र ढुङ्गाना, कमल देवकोटा, अनोज पाण्डे, अनिल पाण्डे, नवराज गिरी, श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रको छायांकन काठमान्डौसँगै वर्दिया, रोल्पा र स्याङ्गजामा गरिएको छ । दीपक बज्राचार्यको छायांकन रहेको चलचित्रमा निमेष श्रेष्ठसँगै अर्जुन कार्कीको सम्पादन रहेको छ । यसमा पुष्पा संगमको पाश्र्व संगीत रहेको छ । ‘पशुपति प्रसाद’ र ‘धनपति’ जस्ता खाँट्टी नेपाली स्वाद बोकेका सफल चलचित्र निर्माण गरेको टुकी आर्ट्सले यसफिल्म निर्माणमा मन्जुश्री फिल्म्ससंग सहकार्य गरेको छ ।चलचित्रमा लेखन पनि खगेन्द्रकै रहेको छ भने यसमा चिफ एडीको रुपमा अनिल खड्का रहेका छन् । चलचित्रलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

Leave a Reply