सलमान खानको ‘दबंग ३’रिलिज हुँदा नेपाली निर्माता डराएकै हुन् त ?

बलिउड सुपरस्टार सलमान खान अभिनित सन् २०१० को सुपरहित चलचित्र ‘दबंग ’को बहु प्रतिक्षित तेस्रो श्रृंखला ‘दबंग ३’ डिसेम्वर २० शुक्रबारदेखि नेपाली बक्सअफिसमा रिलिज हुँदैछ । रिलिज अगावै ‘दबंग ३’ले नेपालका हलहरुमा कब्जा जमाएको छ ।‘दबंग’ को दोस्रो पार्ट सन् २०१२ मा आएको थियो । चलाचित्रलाई लिएर नेपाली दर्शकमा निकै उत्साह छ । सलमान खानको क्रेज नेपालमा धेरै राम्रो छ । प्रभु देवा निर्देशित बलिउड चलचित्रले नेपालका एकल तथा मल्टिप्लेक्समा उपलब्ध सबै शो पाएको हो ।

‘दबंग ३’ लाई क्युएफएक्स अन्तर्गतका हलहरुमा मात्रै ८८ शो दिइएको छ । भने, एफक्युब, बिएसआर, क्युज, बिग मुभिज, वान सिनेमाज, आइएनआइ सिनेमाज र सिडिसीले ८२ शोज दिएका छन् । देशभरका क्यूएफएक्सका सबै हलमा चलचित्रले रेकडब्रेक शोज पाएको छ । यति धेरै शो संख्या पाउने सम्भवतः दबंग ३ नै पहिलो चलचित्र हो । मल्टीप्लेक्समा चलचित्रले ९१.३९ प्रतिशत स्थान ओगटेको छ । चलचित्र रिलिज अगावै नै हलहरु हाउसफुल भईसकेका छन् ।

यो साता नयाँ नेपाली चलचित्र र हलिउडका कुनै पनि चलचित्र रिलिज नहुँदा ‘दबंग ३’लाई निकै फाइदा पुगेको हो । वर्षेनी सयभन्दा बढी नेपाली चलचित्र प्रदर्शनमा आउँछन् । तर, मुश्किलले चार/पाँचवटा चलचित्रले मात्र लगानी उठाउँछन् । हरेक हप्ता एक साथ एक भन्दा बढी चलचित्र रिलिज हुन्छन् । सोलो रिलिजका लागि चलचित्रकर्मीहरु कुरेर बस्छन् तर सलमानको ‘दबंग ३’ आउने भएपछि यो मितिमा कुनै पनि नेपाली निर्माताले आफ्नो चलचित्रको प्रदर्शन मिति तय गरेका छैनन् ।

चलचित्रमा सलमानसँगै सोनाक्षी सिन्हा,नव नायिका सई मंजेंकर लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । दबंग ३’ मा विनोद खन्नाका भाई प्रमोद खन्ना सलमान उर्फ चलचित्रका चुलबुल पाण्डेको पिताको भूमिकामा देखिनेछन् । त्यस्तै, भिलेनको रोलमा साउथका सुपरस्टार सुदीप किच्चा छन् । चलचित्रलाई अरबाज खानले निर्माण गरेका हुन् । निक्कै आशा गरिएको चलचित्रले नेपाली बक्सअफिसमा धमाल मचाउन कति को सफल हुन्छ त्यो त रिलिज पछि नै थाहा हुनेछ ।


Leave a Reply