समाजसेवा पछि ‘धुर्मुस-सुन्तली’ को ‘फनफनी’ (भिडियो सहित)

हास्यकलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को निर्माण र अभिनय रहेको चलचित्र ‘सेन्टी भाइरस’ को पहिलो गीत सार्वजनिक भएको छ । बिहीबार राजधानीको बिग मुभिजमा आयोजना गरिएको एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘फनफनी ’ बोलको गीतमा मेलिना राई र कालीप्रसाद बाँस्कोटाको स्वर छ ।

डिपी खनालको शब्द रहेको गीतमा शङ्कर थापा स्माइलले सङ्गीत भरेका छन् । गीतको भिडियोमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, बुद्धि तामाङ र विल्सन विक्रम राईले मोडल अञ्जली अधिकारीसँग ठुम्का लगाएका छन् । गीतको भिडियोमा शंकर विसीको कोरियोग्राफी रहेको छ ।

रामबाबु गुरुङको निर्देशनमा रहेको चलचित्रमा सिताराम र कुञ्जनाका अलावा दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाललगायतका कलाकारहरुको पनि अभिनय छ । रुपाकोट र पोखरामा छायांकन भएको चलचित्र सामाजिक व्यंग्यमा निर्माण भएको बताइएको छ । चलचित्रको सम्पूर्ण दृश्य शैलेन्द्र डि. कार्कीले खिचेका हुन् ।

‘सेन्टी भाइरस’ बाट पहिलो पटक ‘धुर्मुस-सुन्तली’ चलचित्र निर्माणमा होमिएका हुन् । उनीहरुको होम प्रोडक्सन कम्पनी सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई डिन्डु लामा ह्योल्मोले निर्माण गरेकी हुन् भने सह-निर्मातामा फूर्पा लामा रहेका छन् ।

यो चलचित्रको १५ प्रतिशत नाफा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालामा र ५ प्रतिशत कलाकार संघको भवन निर्माणमा खर्च गरिँदैछ । २ करोडको लागतमा बनेको चलचित्र फागुन ९ गते (महाशिवरात्री) मा नेपालभर प्रदर्शन हुँदै छ ।

Leave a Reply