खगेन्द्रको ‘पानीफोटो’को ट्रेलरमा सशस्त्र द्वन्द्वकालमा बेपत्ता छोरा खोज्ने दम्पतिको कथा

अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशन रहने चलचित्र ‘पानीफोटो’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार लामिछानेको जन्मदिनको अवसर पारेर एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट ४५ सेकेन्टको ट्रेलरमा द्वन्द्वकालमा अपहरणमा परेर बेपत्ता भएको छोराको खोजीमा रहेको एक दाम्पतीको कथा देखाइएको छ । ट्रेलरमा अभिनेता अनुप र अभिनेत्री मेनुकाको मनछुने अभिनय रहेको छ । ट्रेलरमा अभिनेत्री मलिका पनि फिचर्ड छन् । त्यस्तै, ट्रेलरमा खगेन्द्रको पनि प्रवेश हुन्छ । चलचित्र आगामी साउन १३ गतेबाट देशभर प्रदर्शन हुनेछ ।

स्वयम् खगेन्द्रले आफु लिखित नाटकलाई चलचित्रको स्वरुप दिएका हुन् । उनले चलचित्रमा माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशक अगाडी बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा-आमाको कथालाई दर्शक माँझ लिएर आउन लागेका हुन् । यो दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ कै अनुरुपण गरिएको चलचित्र हो । चलचित्रमा खगेन्द्रसंगै सुनिल पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, राधा श्रेष्ठ,अजस्र ढुङ्गाना, कमल देवकोटा, अनोज पाण्डे, अनिल पाण्डे, नवराज गिरी, श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रको छायांकन काठमान्डौसँगै वर्दिया , रोल्पा र स्याङ्गजामा गरिएको छ । दीपक बज्राचार्यको छायांकन रहेको चलचित्रमा निमेष श्रेष्ठसँगै अर्जुन कार्कीको सम्पादन रहेको छ । यसमा पुष्पा संगमको पाश्र्व संगीत रहेको छ । ‘पशुपति प्रसाद’ र ‘धनपति’ जस्ता खाँट्टी नेपाली स्वाद बोकेका सफल चलचित्र निर्माण गरेको टुकी आर्ट्सले यसफिल्म निर्माणमा मन्जुश्री फिल्म्ससंग सहकार्य गरेको छ ।चलचित्रमा लेखन पनि खगेन्द्रकै रहेको छ भने यसमा चिफ एडीको रुपमा अनिल खड्का रहेका छन् । चलचित्रलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

Leave a Reply